आन्दोलनमा गाडी गुमाएकालाई स्काईवेलको राहत, १० लाखसम्मको ‘सहयोग’सहित नयाँ ईभी तुरुन्तै डेलिभरी

काठमाडौं : स्काईवेल ईभीको आधिकारिक वितरक जी मोटर्स प्रालिले गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा सवारी साधन गुमाएका परिवारलाई लक्षित गरी विशेष राहत योजना सार्वजनिक गरेको छ।
‘हामी सँगै गुड्ने छौं’ भन्ने नाराका साथ कम्पनीले पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले यो योजना ल्याएको हो। कम्पनीका अनुसार, उक्त आन्दोलनका क्रममा आफ्नो सवारी साधनमा पूर्ण क्षति बेहोरेका ग्राहकले यस योजनामा सहभागी हुन पाउनेछन्।
योजनाअन्तर्गत, पीडित ग्राहकले आफ्नो क्षतिग्रस्त सवारी साधनको प्रमाणित बीमा दाबीको कागजात पेस गरेलगत्तै नयाँ स्काईवेल ईभी तुरुन्तै डेलिभरी पाउने व्यवस्था मिलाइएको छ।
जी मोटर्सले आन्दोलनबाट पीडित परिवारको क्षतिलाई मनन गर्दै नयाँ गाडी खरिदमा १० लाख रुपैयाँसम्मको विशेष सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। यो सहयोगले पीडितलाई नयाँ सवारी जोड्न ठूलो आर्थिक राहत मिल्ने कम्पनीको विश्वास छ।
दशैंको अवसरमा ग्राहकलाई थप आकर्षित गर्दै कम्पनीले हरेक स्काईवेल ईभीको खरिदमा एउटा आईफोन १७ समेत उपहार दिने जनाएको छ।
‘भदौ २३ र २४ गतेको घटनाले धेरै नागरिकले क्षति बेहोर्नुपरेको अवस्थामा हामी उहाँहरूको व्यावसायिक र दैनिक जीवनमा सहयोगी बन्न चाहन्छौं’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
असोज ९, २०८२ बिहीबार ११:२६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।