कलाकार रत्न बेहोसीको हिजोको कुरा : केटी बनेर नाटक खेल्दा अपहरणमा परेँ, प्रमाण देखाएपछि मात्र ‘ए...’ भन्दै छाडिदिए

कलाकार रत्न बेहोसीको हिजोको कुरा : केटी बनेर नाटक खेल्दा अपहरणमा परेँ, प्रमाण देखाएपछि मात्र ‘ए...’ भन्दै छाडिदिए

काठमाडौं : रत्न बज्राचार्य ‘बेहोसी’ नेवारी संगीतका एक धरोहर गायक, संगीतकार तथा नाटककार हुन्। उमेरले ९० वर्ष पुगे उनी तर यो उमेरमा पनि उनको जोश र स्मृति उस्तै छ।

वि.सं. १९९२ सालमा ललितपुरमा जन्मिएका उनले सानै उमेरबाट गीत गाउन र नाटकमा अभिनय गर्न थालेका थिए। ३०० भन्दा बढी गीतमा स्वर दिइसकेका बेहोसी करिब ६० वटा नेपाली गीतका गायक पनि हुन्। दुई दाजुभाइमध्ये जेठा उनी, भाइको सानैमा निधन भएपछि घरको एक्लो छोरा बने।

पारिवारिक माहोल नै कला र संगीतले भरिपूर्ण भएकाले उनको यात्रा नेवारी गीतबाटै शुरू भयो। २०१३ सालमै रेडियो नेपालमा नेवारी भाषाको गायकका रूपमा स्वरपरीक्षा पास गरे, तर नेपाली गीतको स्वरपरीक्षामा भने उनी सफल हुन सकेनन्। नेपाली शब्दको उच्चारण स्पष्ट नभएकै कारण उनलाई अनुत्तीर्ण गरिएको थियो।

यो असफलताले उनलाई हार मान्न दिएन, बरु थप दृढ बनायो। आफ्नो उच्चारण सुधार्नकै लागि उनले काठमाडौं छाडे र हेटौंडा हुँदै लमजुङसम्म पुगे। करिब चार वर्ष बाहिर बसेर नेपाली भाषामा पोख्त भएपछि उनी २० सालमा काठमाडौं फर्किए र रेडियो नेपालमा स्वरपरीक्षा पास गरे अनि रेडियो नेपालमै जागिरे भए।

उनको जीवन कला र संघर्षको एउटा अनुपम कथा हो। घरमा छोराको मृत्युको पीडाबीच रङ्गमञ्चमा उभिनुपरेको क्षण होस् वा राजाको कोट सिलाउने बुबाको कलाको साक्षी बसेको अनुभव, उनले जीवनमा धेरै कुरा भोगेका छन्। ‘उकेरा’सँगको कुराकानीमा उनले आफ्नो जीवनका ती अविस्मरणीय पलहरू यसरी सुनाए:

कहिले स्कुल, कहिले काम
मेरो जन्म वि.सं. १९९२ सालमा ललितपुरको भिन्से बहालमा भएको हो। त्यो बेलाको समाज र पढाइको अवस्था अहिलेको जस्तो थिएन। स्कुलहरू औँलामा गन्न सकिने थिए, ती पनि सबै सरकारी।

मैले पुलचोकको त्रिपद्म माध्यमिक विद्यालयमा ३-४ कक्षासम्म पढेँ, तर गरिब कुलमा जन्मिएपछि नियमित पढाइलाई निरन्तरता दिन सकिनँ। पढ्ने-पढाउने चलन पनि खासै थिएन, काम गरेरै खानुपर्छ भन्ने मानसिकता थियो।

म जन्मँदा देशमा राणा शासन थियो। साधारण परिवारको सदस्य भएकाले काम नगरी सुख थिएन। बुबाले जहाँ-जहाँ डोर्याउनुहुन्थ्यो, म त्यहीँ जान्थेँ। बुबा सिलाइ-बुनाइको काम गर्नुहुन्थ्यो। म पनि उहाँसँगै हुन्थेँ। कहिलेकाहीँ स्कुल जान्थेँ, तर नियमित थिइनँ। स्कुल नगएको दिन काममा जान्थेँ, कहिले सुचिकार त कहिले सोफा बनाउने। जे काम भेट्यो, त्यही गर्ने चलन थियो।

घरको माहोल नै गीत-संगीत
हाम्रो घरको वातावरण नै सांगीतिक थियो। मेरा जिजुबुबा आफ्नो समयका प्रख्यात कलाकार हुनुहुन्थ्यो। उहाँको नाम त मलाई पनि थाहा भएन, किनभने त्यतिबेला नामले बोलाउने चलन खासै थिएन। उहाँ नाटक लेख्ने, सिकाउने, नाच्ने, नचाउने सबै गर्नुहुन्थ्यो।  नाटकका लागि चाहिने लुगाफाटो पनि आफैँ सिलाउनुहुन्थ्यो। नाटक मञ्चन गराउन आफ्नै खर्च गर्नुपर्थ्यो। यही नाटकको सोख पूरा गर्न उहाँले कति बिघा जग्गा बेच्नुभयो, त्यसको कुनै लेखाजोखा छैन।

बाजेको पालामा आइपुग्दा नाटकको कला हरायो, उहाँहरू गीत गाउन र वाद्यवादन बजाउन मात्र जान्ने हुनुभयो। बुबा र ठुलोबुबाहरूको पालोमा त झन् गाउने काम मात्रै सीमित भयो। हाम्रो घरमा बुबा गीत गाउनुहुन्थ्यो, आमा नाच्नुहुन्थ्यो। नाच, बाजा र नाटक सिकाउने काम सबै हाम्रै घरमा हुन्थ्यो।

मैले पनि सानैमा डबली नाटक ‘एक सयको पाँच सय’मा नोकरको भूमिकामा अभिनय गर्ने मौका पाएँ। यो एउटा चेतनामूलक नाटक थियो, जसले सय रुपैयाँ सापटी दिएर पाँच सयको कागज गराउने चलनविरुद्ध सन्देश दिन्थ्यो। त्यतिबेलासम्म मलाई ‘दृश्य’ भनेको के हो भन्ने पनि थाहा थिएन।

घरमै नाटक सिक्ने-सिकाउने वातावरण भएकाले मैले आफैँले ‘ए, एक दृश्य भनेको यतिबाट यतिसम्मको हुँदो रहेछ’ भनेर बुझेँ। यो २०१३ सालको कुरा हो। १४ सालदेखि त म आफैँ नाटक सिकाउन थालिसकेको थिएँ। मैले आफैँले लेखेका, अभिनय गरेका र निर्देशन गरेका नाटकहरूको संख्या गन्यो भने दुई देखि तीन सयभन्दा बढी नै होलान्।

नाटक खेल्दा केटी भनेर अपहरणमा परियो
त्यो समयमा नाटकका लागि कलाकार पाउन निकै मुस्किल थियो। महिला पात्रको भूमिकाका लागि केटीहरू पाइँदैनथे, केटाहरूले नै अभिनय गर्नुपर्थ्यो। यदि कसैले आफ्नो भूमिका राम्ररी निभाउन सकेन भने म आफैँ खेल्थेँ, विशेषगरी केटीको भूमिकामा। मेरो कपाल पनि काँधसम्म लामो थियो।

२०१७ सालतिरको कुरा हो, छत्रपाटीको डबलीमा एउटा नाटक मञ्चन हुँदै थियो। हिरोइनको भूमिका गर्ने कलाकारको अभिनय मलाई चित्त बुझेन र म आफैँ त्यो भूमिकामा उत्रिएँ। त्यतिबेला अहिलेको जस्तो बिजुलीबत्ती थिएन, मट्टीतेलको म्यान्टल बालेर अँध्यारोमा नाटक देखाइन्थ्यो।

नाटक सकिएपछि राति केही केटाहरूले मलाई केटी ठानेर उठाएर लगे। कपाल लामो, महिलाको पहिरनमा थिएँ। उनीहरूले मलाई पछाडिबाट उठाएर कहाँ लगे, पत्तै भएन। मैले ‘म केटा हुँ’ भन्दा पनि पत्याएनन्। अन्त्यमा, मैले सबै लुगा खोलेर देखाएपछि मात्र उनीहरूले ‘ए...’ भन्दै मलाई फेरि त्यही ठाउँमा ल्याएर छाडिदिए।

रेडियो नेपालको यात्रा र भाषा साधना
मैले २०१३ सालमा रेडियो नेपालमा नेवारी भाषाको गायकका लागि स्वरपरीक्षा दिएँ। हामी १७ जना थियौँ, जसमा १६ जना फेल भए, म एक्लै पास भएँ। त्यतिबेला रेडियो नेपालमा कार्यरत नातिकाजीले भन्नुभयो, ‘तिमी एक्लै पास भयौ, आजै गाएर जाऊ।’

साँझ ६ बजे गाउने समय तोकियो। दिउँसो २ बजे पास भएको मलाई त्यो चार घण्टा चार वर्षजस्तो लाग्यो। बल्ल ६ बजे मैले एउटा नेवारी गीत गाएँ। गीत गाएर म हिँड्दै मंगल बजार आइपुगेको थिएँ। त्यहाँ एउटा पान पसलमा मानिसहरूले मलाई देखेर ‘ल, रेडियो नेपालमा गीत गाउने भाइ यहाँ आइपुगेछ’ भन्दै हेर्न थाले।

मलाई त रेडियोमा गाएको गीत स्टुडियोमा मात्र सुनिन्छ, बाहिर कसैले सुन्दैनन् भन्ने लाग्थ्यो। हाम्रो टोलमा एउटा मात्र ठूलो क्रोसर रेडियो थियो, जुन बजाएपछि टोलभरिकाले सुन्थे। त्यस दिनपछि मात्र थाहा पाएँ, रेडियोमा गाएको गीत त सबैतिर सुनिँदो रहेछ।

नेवारीमा पास भएपछि नेपाली गीत गाउने रहर जाग्यो। २०१६ सालमा नेपाली गीतका लागि स्वरपरीक्षा दिएँ, तर फेल भएँ। स्वर र ताल ठिक भए पनि शब्द उच्चारणमा फालिएँ। अब कसरी उच्चारण सुधार्ने भन्ने चिन्ताले सतायो। काठमाडौंमा बसेँ भने नेवारी लवजले छाड्दैन भन्ने लागेर म नेपाली भाषा सिक्नकै लागि हिँडेरै भीमफेदी हुँदै हेटौंडा पुगेँ।

त्यहाँ ६-७ महिना बसेपछि २०१७ सालमा फेरि काठमाडौं आएर स्वरपरीक्षा दिएँ र पास पनि भएँ। तर मलाई आफ्नो स्वर अझै चित्त बुझेन। त्यसपछि म फेरि भीमफेदी, हेटौंडा, नारायणघाट हुँदै बन्दीपुर र गोरखासम्म पुगेँ। हिँडेरै यात्रा गर्थेँ, गाडीको सुविधा थिएन। नेपाली भाषामा पोख्त भएपछि म २०२० सालमा काठमाडौं फर्किएँ। मेरो आवाज पनि सफा भइसकेको थियो।

मैले रेडियो नेपालमा करारमा काम गर्न थालेँ। एउटा गीत गाएको १० रुपैयाँ पारिश्रमिक पाइन्थ्यो। मासिक तलबमा काम गर्दा १५० रुपैयाँ तलब थियो, जुन त्यतिबेला ठूलो रकम थियो। महिनाभरि मासुभात खाएर, डेराभाडा तिरेर पनि पैसा बच्थ्यो। घरमा बस्दा बुबाको काममा सघाउनुपर्ने भएकाले म गीत-संगीतमा समय दिन डेरामै बस्थेँ।

राणा र राजाको कोट सिलाउने मेरा बुबा
मेरा बुबा काममा निकै निपुण हुनुहुन्थ्यो। चन्द्रशमशेरले अगाडि सुनैसुन झुन्ड्याएर लगाएको कोट मेरा बुबाले नै सिलाउनुभएको हो। जुद्धशमशेर, मोहनशमशेरलगायत अधिकांश राणाहरूले लगाउने कोट उहाँले नै सिलाउनुहुन्थ्यो।

मैले थाहा पाउँदा बुबालाई नेपाली बोल्न आउँदैनथ्यो, नेवारी भाषामै कुरा गर्नुहुन्थ्यो। त्यतिबेला राणाहरू र राजा महेन्द्र पनि नेवारी भाषा बोल्थे। राजा महेन्द्र त नेवारी भाषा प्रस्टसँग बोल्नुहुन्थ्यो।

एकपटक राजा महेन्द्र बेलायतबाट कोटको कपडा लिएर गाहा बहालमा रहेको सुचिकार कम्पनीमा आउनुभयो, जहाँ मेरा बुबा काम गर्नुहुन्थ्यो। म पनि बुबासँगै थिएँ। राजालाई कसैले चिनेन। उहाँका एडीसीले ‘सरकारको कोट सिलाउनुपर्यो’ भने। बुबाले नेपाली नबुझ्ने र कान पनि कम सुन्ने भएकाले एडीसीले हाउभाउबाटै कुरा बुझाए।

बुबाले राजालाई अगाडि-पछाडि, वरपर हेरेर भुइँको रातो माटोमा नङले डोब बनाउनुभयो। उहाँलाई फित्ताले नाप्नै पर्दैनथ्यो। त्यही डोबको भरमा उहाँले कोट काट्नुभयो। तीन दिनमा कोट तयार भयो। दरबारमा लगेर दिँदा राजा महेन्द्रको जीउमा ठ्याक्कै मिल्यो। राजा चकित पर्नुभयो। उहाँले ज्यालाबापतको पैसा र बकस स्वरूप १०० रुपैयाँ थमाइदिनुभयो।

जिन्दगीमा कहिल्यै त्यति धेरै पैसा नदेखेका मेरा बुबा १०० रुपैयाँको नोट हातमा पर्नासाथ थरथर काम्न थाल्नुभयो। उहाँ घरसम्म हिँड्न पनि सक्नुभएन। बल्लतल्ल सुचिकार कम्पनीमा पुगेपछि मालिकले ‘तिमीलाई यो पैसा बोक्न गाह्रो भयो भने मलाई देऊ, पछि अलि-अलि गर्दै लैजाऊ’ भनेर राखिदिए। त्यो बेलाको १०० रुपैयाँको नोट अहिलेको जस्तो सानो होइन, कापीको पानाजत्रै ठूलो हुन्थ्यो।

छोराको लास उता जल्दै थियो, यता म नाटक गर्दै थिएँ
मेरो बिहे २०२६ सालमा भयो। सतुंगलमा नाटक सिकाउन जाँदा त्यहीँकी एक युवती (अहिले मेरी श्रीमती) ले मलाई मन पराइछन्। हामीले सामान्य तरिकाले बिहे गर्यौँ र डेरामै बस्न थाल्यौँ।

हाम्रो पहिलो छोरो आठ महिनाको हुँदा बित्यो। त्यो दिन म आज पनि सम्झन्छु। यो २०२७ सालको कुरा हो। म ललितपुरको चारदोबाटोमा एउटा नाटक सिकाइरहेको थिएँ। इन्द्रजात्राको द्वादशीका दिन नाटक मञ्चन गर्ने तयारी थियो। नाटक शुरू हुन १०-१५ मिनेट मात्र बाँकी थियो। म घरबाट निस्कँदा छोरो अलि बिरामी थियो।

एक्कासी मेरो ठुलोबुबाको छोरा टोपी फुकालेर दौडिँदै आयो। नेवारी परम्परामा टोपी फुकालेर आउनुको अर्थ मृत्युको खबर ल्याउनु हो। मैले थाहा पाइसकेँ, मेरो छोरो रहेन। उसले ‘घर आउनू’ भन्यो। मैले ‘हुन्छ, थाहा पाएँ’ भनेँ। मसँग एक पैसा थिएन। मैले कलाकारहरूसँग पैसा मागेँ, तर कसैसँग थिएन। नाटक निर्माताले पनि भोजका लागि सबै सामान उधारोमा ल्याएको बताए।

त्यतिबेला एकजना राणा परिवारकी महारानीले मेरो गीत मन पराएर आफ्नो हातको घडी फुकालेर बकस दिनुभएको थियो। त्यो घडीमा दुईवटा हीरा थियो भन्ने मलाई थाहा थिएन। मैले त्यही घडी एक जनाकहाँ ४० रुपैयाँमा बन्धकी राखेँ। त्यही पैसा बोकेर घर गएँ, छोराको लासलाई घाट लगेर दागबत्ती दिएँ।

उता छोराको लासमा आगो दन्किरहेको थियो, म यता नाटक मञ्चन गर्न रङ्गमञ्चमा फर्किएँ। दागबत्ती दिएलगत्तै म नाटक देखाउन आएको थिएँ। त्यो चोट मलाई मात्र परेको थियो, हेर्न आउने दर्शकलाई त परेको थिएन नि! नाटक भोलि देखाउँछु भन्दा त्यो माहौल बन्दैनथ्यो। मैले त्यो पीडा मनमै दबाएर आफ्नो कर्तव्य पूरा गरेँ। पछि मेरा दुई छोरा र एक छोरी भए।

असोज ९, २०८२ बिहीबार ११:०४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।