नवलपरासीमा जेलब्रेक गरी भागेका २२२ कैदीबन्दी फिर्ता

नवलपरासीमा जेलब्रेक गरी भागेका २२२ कैदीबन्दी फिर्ता

नवलपरासी : ‘जेन-जी’ आन्दोलनपछि भदौ २५ गते नवलपरासी कारागारबाट भागेका कैदीबन्दीहरू फिर्ता हुने क्रम जारी छ।

कारागार प्रशासनले थप सजाय हुन सक्ने चेतावनीसहित फर्किन गरेको अनुरोधपछि हालसम्म २२२ जना कैदीबन्दी कारागारको सम्पर्कमा आएका छन्।

कारागारका जेलर विकल श्रेष्ठका अनुसार, उक्त दिन कैदीबन्दीले कारागारलाई आफ्नो नियन्त्रणमा लिएर विद्रोह गरेका थिए।

स्थिति नियन्त्रणबाहिर गएपछि थप हिंसा हुन नदिन प्रहरीले उनीहरूलाई बाहिर निस्कन दिएको थियो। कुल ५४६ जना कैदीबन्दी भागेका थिए भने १७ पुरुष र १२ महिला गरी २९ जना कारागारमै बसेका थिए।

हालको अवस्था र तथ्याङ्क:
कुल भागेका कैदीबन्दी: ५४६ जना
कारागारमा फिर्ता भएका: २२२ जना
अन्य कारागारमा हाजिर भएका: १३ जना
फर्किन बाँकी: ३११ जना

जेलर श्रेष्ठले भागेका मध्ये ४० जना भारतीय नागरिक रहेकोमा एक जना फिर्ता भइसकेको जानकारी दिए। फिर्ता हुने क्रम दैनिक रूपमा जारी रहेको उनको भनाइ छ।

यसैबीच, केन्द्रीय कारागारबाट भागेका दुई मोरक्कन र एक दक्षिण अफ्रिकी नागरिकलाई पनि नवलपरासी कारागारमा राखिएको श्रेष्ठले बताए।

असोज ९, २०८२ बिहीबार १०:२२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।