जमरा राख्दा छोरीको मृत्यु हुने डर, बागलुङका माझी समुदायको अनौठो दशैं

गलकोट : देशभरका घरघरमा घटस्थापनाको दिन जमरा राखेर दशैंको उल्लास सुरु हुँदा बागलुङको एक समुदाय भने यो परम्पराबाट टाढै रहन्छ।
अनिष्ट हुने डरले यहाँको माझी समुदायले पुर्खौंदेखि दशैंमा जमरा नराख्ने अनौठो तरिका अपनाउँदै आएको छ।
बागलुङ नगरपालिका-१ रामरेखास्थित खनियाबास र मालढुङ्गामा बसोबास गर्ने माझी समुदायको घरमा घटस्थापनाको दिन जमरा राखिँदैन।
करिब डेढ सय वर्ष पुरानो एक दुःखद किंवदन्तीका कारण उनीहरूले यो चलनलाई निरन्तरता दिँदै आएका छन्।
स्थानीय अगुवाहरूका अनुसार, पुर्खाहरूले जमरा राख्दा घरकी कन्या (छोरी)को मृत्यु हुने जस्ता अशुभ घटनाहरू लगातार घटेपछि यो परम्परालाई नै त्यागेका थिए।
स्थानीय देउकुमारी माझी भन्छिन्, ‘पुर्खाले जमरा राख्दा अनिष्ट हुन्छ भनेकाले हामी त्यो चलन मान्दैनौँ। घरमा जमरा राख्दा दशैं नै अशुभ हुन्छ भन्ने हाम्रो विश्वास छ।’
उनीहरूका अनुसार, जमरा राख्न छोडेपछि अशुभ घटनाहरू रोकिएको विश्वासले यो परम्परा झनै बलियो बनेको हो।
‘पहिले जमरा राख्दा घरकी कन्याको मृत्यु भयो, तर जब जमरा राख्न छोडियो, त्यस्तो हुन पनि छोड्यो भन्ने किंवदन्ती छ’, माझीले भनिन्।
यद्यपि, उनीहरूले दशैं भने मनाउँदै आएका छन्। विजयादशमीको दिन टीकासँगै लगाउनका लागि उनीहरूले घरमा जमरा नराखे पनि नजिकैको मन्दिरबाट ल्याएर प्रयोग गर्छन्।
स्थानीय कृष्ण माझीका अनुसार, यो चलनमा सिंगो समुदायको साझा सहमति छ र पछिल्लो पुस्ताले पनि यसलाई सम्मानका साथ निरन्तरता दिएको छ।
खनियाबास र मालढुङ्गामा माझी समुदायका करिब २० परिवार बसोबास गर्छन्।
पुर्खौंदेखि कालीगण्डकी नदीमा माछा मार्ने, डुङ्गा चलाउने र बालुवा निकालेर जीविकोपार्जन गर्दै आएका उनीहरू पछिल्लो समय अन्य पेशामा आबद्ध हुन थालेका छन्।
असोज ९, २०८२ बिहीबार ०९:०५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।