रास्वपाद्वारा नख्खु घटना छानबिन गर्न समिति गठन,ओली र लेखकलाई रोक लगाउन माग

रास्वपाद्वारा नख्खु घटना छानबिन गर्न समिति गठन,ओली र लेखकलाई रोक लगाउन माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन-जी आन्दोलनका क्रममा भएको नख्खु कारागार आसपासको घटनामा आफ्ना सदस्यहरूको संलग्नताबारे छानबिन गर्न एक समिति गठन गर्ने निर्णय गरेको छ।

साथै, पार्टीले उक्त आन्दोलनमा भएको दमनको प्रतिवेदन नआएसम्म तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूलाई राजनीतिक गतिविधिमा रोक लगाउन सरकारसँग माग गरेको छ। मंगलबार र बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णयहरू गरेको हो।

बैठकले भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनाहरूको सत्यतथ्य पत्ता लगाउन र त्यसमा पार्टी सदस्यको भूमिका रहे-नरहेको यकिन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

त्यसैगरी, भदौ २३ र २४ गतेको आन्दोलनमा राज्य पक्षबाट भएको भनिएको दमन र हिंसाको छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीलाई राजनीतिक गतिविधिमा सहभागी हुनबाट रोक लगाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ।

यसका अलावा पार्टीले आगामी कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक आयोजना गर्ने निर्णय गरेको छ भने आगामी निर्वाचनका लागि पार्टीको वाचापत्र तयार गर्न उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

असोज ९, २०८२ बिहीबार ०८:१८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।