जेन-जी आन्दोलनमा नख्खुबाट भागेका शिव शिखरका अध्यक्ष पक्राउ

काठमाडौं : सहकारीमा रहेको बचतकर्ताहरूको अर्बौँ रकम ठगी गरेको अभियोगमा ललितपुरस्थित नख्खु कारागारमा रहेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्। जेन-जी पुस्ताको आन्दोलनकोक्रममा उनी भदौ २३ गते भागेका थिए। उनलाई प्रहरीले बुधवार पक्राउ गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सानेपाबाट पक्राउ गरेर उनलाई नख्खु कारागार बुझाएको छ। उनी सहकारी ठगीमा संलग्न रहेको खुलेसँगै फरार भएका थिए। प्रहरीले उनलाई २०८० असार १२ मा पक्राउ गरेको थियो। सहकारीमा रहेको बचतकर्ताहरूको २२ अर्ब ठगीको आरोपमा उनी पुर्पक्षका लागि थुनामा थिए।
भदौ २३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिरिएपछि त्यहाँ रहेका अन्य कैदी तथा बन्दीहरूले समेत जेल फोडेर बाहिर निस्किएर भागेका थिए। स्थिति सामान्य बन्दै गएपछि कारागार प्रशासनले हाजिर हुन आउन वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरे पनि उनी भने भागेर बसेका थिए।
जेन-जी आन्दोलनकोक्रममा विभिन्न जेलबाट १४ हजार कैदी-बन्दी भागेका थिए। हालसम्म करिब ८ हजार कैदी/बन्दी फरार छन्। रवि लामिछानेसहित केही भने आफैँ कारागार फर्किएका थिए।
असोज ८, २०८२ बुधबार १७:०५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।