दलमा आबद्ध भएर जेन-जी आन्दोलनको जस लिन खोज्ने विरुद्ध सुरु भयो ‘एक्सपोज झोले’ ट्रेन्ड

दलमा आबद्ध भएर जेन-जी आन्दोलनको जस लिन खोज्ने विरुद्ध सुरु भयो ‘एक्सपोज झोले’ ट्रेन्ड

काठमाडौं : नेपो बेबी ट्रेन्ड भ्रष्टाचार विरुद्धको प्रदर्शन हुँदै सत्ता बदल्ने चरणसम्म पुग्यो। सुशीला कार्कीको नेतृत्वमा छ महिनामा निर्वाचन गर्ने गरी अन्तरिम सरकार गठन भएको छ।

असङ्गठित रूपमा सुरु भएको आन्दोलनको जस लिन सुधन गुरुङदेखि पुरानै दलका नेता तथा कार्यकर्तासँगै आन्दोलनसँग नजोडिएकाहरू सक्रिय भएपछि टिकटकमा नयाँ ट्रेन्ड 'एक्सपोज झोले' सुरु भएको छ।

यो ह्यासट्यागमा दलसँग आबद्ध रहेका तर अहिले जेन-जी पुस्ताको आन्दोलनको क्रेडिट लिने प्रयासमा रहेकासँगै दलमा आबद्ध भएर सक्रिय भएका नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलका युवा नेता तथा समर्थकको सामाजिक सञ्जालमा रहेका पार्टीसँग संलग्न गतिविधिका तस्बिर र भिडियो सार्वजनिक भइरहेको छ।

दलका झोलेलाई एक्सपोज गरौँ भन्दै सामाजिक सञ्जालमा युवा सक्रिय हुँदा उता अन्तरिम सरकारको सन्चारमन्त्री नै नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि रहेको पुष्टि भइसकेको छ। अन्तरिम सरकारका गृहमन्त्री समेत साझा विवेकशील पार्टीमा आबद्ध हुन्।

सरकारले सामाजिक सन्दर्भमा सञ्जालमाथि प्रतिबन्ध लगाएपछि युवा पुस्ताले खुलेका सामाजिक सञ्जालबाट सुरु गरेको नेपो बेबी ट्रेन्ड नै जेन-जी पुस्ताको आन्दोलनको प्रारम्भ थियो। पछि यो भ्रष्टाचार विरोधी आन्दोलनमा बदलिएको थियो।

असोज ८, २०८२ बुधबार १६:४८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।