हजार र पाँच सयको नोटमाथि प्रतिबन्ध लाग्दैन : अर्थमन्त्री खनाल

विराटनगर : अर्थमन्त्री रामेश्वर खनालले हाल बजारमा हल्ला चलेजस्तो एक हजार र पाँच सय रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाउने विषयमा सरकारले कुनै छलफल नगरेको स्पष्ट पारेका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नोट प्रतिबन्धको हल्लामा कुनै सत्यता नरहेको बताए। एक प्रश्नको जवाफमा मन्त्री खनालले भने, ‘अहिलेको अवस्थामा हजार र पाँच सयको नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल भएको छैन।’
फरक प्रसङ्गमा, मन्त्री खनालले प्रदेश संरचना खारेज हुने सम्भावनालाई पनि अस्वीकार गरे। उनले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भइरहेकाले प्रदेश खारेजीको कुनै सोच नरहेको स्पष्ट पारे।
त्यसैगरी, भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मा गरेको परिवर्तनबारे सोधिएको प्रश्नमा उनले त्यसको असरबारे अध्ययन भइरहेको बताए। मन्त्री खनालले भारतीय नीतिको कारण नेपाली उद्योग-व्यवसायमा नकारात्मक असर पर्ने देखिएमा आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरे।
असोज ८, २०८२ बुधबार १५:२६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।