मतदाता नामावली संकलनको बाटो खुल्यो, राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार उक्त अध्यादेश प्रमाणीकरण गरेका हुन्।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ।
प्रचलित कानुनअनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न पाइँदैनथ्यो।
यही कानुनी बाधा हटाउन सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेको हो।
अब निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा पनि मतदाता नामावली संकलन गर्न सकिनेछ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिबाट अध्यादेश जारी भएको पुष्टि गरेका छन्।
अध्यादेश जारी हुनुअघि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी थिइन्।
असोज ८, २०८२ बुधबार १४:२१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।