किन आईसीसीको निलम्बनमा पर्‍यो युएसए क्रिकेट?

किन आईसीसीको निलम्बनमा पर्‍यो युएसए क्रिकेट?

एजेन्सी : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले युएसए क्रिकेटको सदस्यता तत्कालका लागि निलम्बन गरेको छ।

विधानको लगातार उल्लंघन, कमजोर व्यवस्थापन र खेलको प्रतिष्ठामा आँच पुऱ्याएको भन्दै आईसीसीले यस्तो कडा कदम चालेको हो। यद्यपि, निलम्बनले खेलाडी र राष्ट्रिय टोलीको सहभागितामा भने कुनै असर नपर्ने आईसीसीले स्पष्ट पारेको छ।

आईसीसीको बोर्ड बैठकले गरेको निर्णयअनुसार युएसए क्रिकेटले सदस्य राष्ट्रका रूपमा आफ्ना दायित्वहरू बारम्बार उल्लंघन गरेको पाइएको छ।

प्रभावकारी र कार्यात्मक प्रशासनिक संरचना बनाउन असफल भएको, ओलम्पिक तथा पाराओलम्पिक समितिबाट राष्ट्रिय मान्यता पाउन प्रगति गर्न नसकेको र विश्वभर क्रिकेटको छविमा नकारात्मक असर पारेको आरोपमा उसको सदस्यता निलम्बित गरिएको आईसीसीले जनाएको छ।

आईसीसीले यो निलम्बन क्रिकेटको दीर्घकालीन हितको रक्षाका लागि आवश्यक तर दुर्भाग्यपूर्ण कदम भएको बताएको छ। खेलाडी र खेललाई निलम्बनको असरबाट जोगाउनु आईसीसीको मुख्य प्राथमिकता रहेकोले अमेरिकी राष्ट्रिय टोलीले आईसीसीका प्रतियोगिताहरूमा खेल्न पाउने अधिकार कायमै राख्ने निर्णय भएको छ।

यसले सन् २०२८ मा हुने लस एन्जलस ओलम्पिकको तयारी कुनै असर पार्ने छैन। निलम्बन अवधिभर अमेरिकी राष्ट्रिय टोलीको व्यवस्थापन र प्रशासन अस्थायी रूपमा आईसीसी वा उसले तोकेको प्रतिनिधिले हेर्नेछ।

आईसीसीले गठन गरेको एक ‘नर्मलाइजेसन कमिटी’ले युएसए क्रिकेटको निलम्बन फुकुवाका लागि आवश्यक कदमहरूको खाका तयार पार्नेछ। निलम्बन फुकुवा हुनका लागि युएसए क्रिकेटले आफ्नो प्रशासनिक संरचना, सञ्चालन र समग्र कार्यशैलीमा ठोस र देखिने गरी सुधार गर्नुपर्नेछ।

आईसीसीले यसअघि नै युएसए क्रिकेटलाई मापदण्ड पूरा नगरेको भन्दै विशेष निगरानीमा राखेको थियो र सुधारका लागि समय दिएको थियो। ओलम्पिकमा क्रिकेटको समावेशीकरणलाई जोखिममा पार्ने वा खेलको प्रतिष्ठामा आँच आउने कुनै पनि काम नगर्न स्पष्ट निर्देशन दिइए पनि त्यसको पालना नभएपछि निलम्बनको निर्णय लिइएको हो।

असोज ८, २०८२ बुधबार १४:१४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।