एसएलआरसहितका घातक हतियार र अपराधी खुल्लमखुल्ला, अनुसन्धान गरेका प्रहरी भूमिगत

काठमाडौं : जेन-जी पुस्ताको आन्दोलनमा प्रहरी कार्यालयहरूबाट एसएलआर, इन्सास राइफल र पेस्तोलजस्ता अत्याधुनिक हतियार मात्र लुटिएनन्, हजारौंको संख्यामा हत्या, अपहरण र डकैतीजस्ता गम्भीर अपराधमा सजाय काटिरहेका कैदीसमेत कारागार तोडेर भागे।
लुटिएका हतियार, गोली र सञ्चार उपकरणको पूर्ण विवरण अझै संकलन भइसकेको छैन। जानकार स्रोतका अनुसार, देशभरका प्रहरी कार्यालयबाट करिब ३ हजार हतियार लुटिएकोमा हालसम्म २०० मात्रै फिर्ता भएको छ।
यसको अर्थ, अझै पनि २ हजार ८०० अत्याधुनिक हतियार कहाँ छ प्रहरीलाई त्यसबारे थाहा छैन। काठमाडौं उपत्यकाका प्रहरी कार्यालयहरूबाट मात्रै एसएलआर, इन्सास, थ्रीनटथ्री, बेरेटा पेस्तोलसहित हजारौं राउन्ड गोली लुटिएको थियो।
त्यस्तै, देशभरबाट १० हजार राउन्डभन्दा बढी गोली लुटिएकोमा करिब तीन हजार राउन्ड मात्र बरामद भएको छ। यो विवरणले समाजमा अझै करिब सात हजार राउन्ड गोली अपराधी र अराजक समूहको हातमा रहेको देखिन्छ।
आवेगमा हतियार बोकेका केही व्यक्तिले फिर्ता गरे पनि नियोजित रूपमा लुटपाटमा संलग्न आपराधिक समूहले हतियार लुकाएका छन्। ती हतियार भारतको अवैध बजारसम्म पुग्ने वा तिनकै आडमा गम्भीर आपराधिक घटना घट्न सक्ने जोखिम समेत ह्वात्तै बढेको छ।
अपराधी जेलबाहिर, प्रहरी भूमिगत
जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट भागेका २ हजार ४०० र नक्खु कारागारबाट ७०० सहित देशभरबाट करिब ८ हजार कैदी/बन्दी फरार छन्। फरार हुनेमा जन्मकैदको सजाय भोगिरहेका गम्भीर प्रकृतिका अपराधीसमेत छन्।
यसले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूको सुरक्षामा गम्भीर संकट पैदा गरेको छ। आफूले अनुसन्धान गरेर जेल पठाएका अपराधीहरू नै हतियारसहित बाहिर आएपछि उनीहरूको निशानामा पर्ने डरले धेरै प्रहरी अधिकारी भूमिगत हुन बाध्य भएका छन्।
‘संगठनको अवस्था हेर्दा अहिले हामी सबैभन्दा बढी सक्रिय हुनुपर्ने हो,’ गम्भीर अपराधको अनुसन्धान गर्ने एक प्रहरी अधिकारीले भने, ‘तर हिजो हामीले नै अनुसन्धान गरेर दोषी प्रमाणित गरेका अपराधीहरू लुटिएका हतियारसहित बाहिर छन्। यस्तोमा सुरक्षित रहन बाहिर निस्कने अवस्था नै छैन।’
प्रहरी मात्र होइन, फरार कैदीहरूले न्यायाधीशहरूलाई समेत फोनमार्फत धम्क्याउन थालेका छन्। हालै सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले लोकपथसँग कारागारबाट भागेकाहरूले न्यायाधीशहरूलाई फोन गरेर धम्क्याइरहेको बताएकी थिइन्।
नेपालको कानुन अनुसार जति अपराध गरे पनि अधिकतम सजाय २० वर्ष भन्दा बढी गर्न मिल्दैन। फरार रहेका अधिकांश जन्मकैद पाएका समेत छन्। यसले समेत जोखिम बढाएको छ।
असोज ८, २०८२ बुधबार १३:०७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।