जेन-जी आन्दोलनले ध्वस्त संरचना पुनर्निर्माणमा चीनको चासो, नेपाललाई सहयोग गर्न तयार

काठमाडौं : हालैको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका सार्वजनिक भौतिक संरचनाहरूको पुनर्निर्माणमा उत्तरी छिमेकी चीनले सहयोग गर्ने प्रस्ताव गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत छेन सोङले अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा चीन यसका लागि तयार रहेको बताएका हुन्।
अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत सोङले अर्थमन्त्री खनाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। भेटका क्रममा उनले नेपाललाई संकट परेको बेला चीन सधैं एक असल छिमेकीको रूपमा साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
‘नेपाल र चीनबीच गहिरो र ऐतिहासिक सम्बन्ध छ। यो कठिन समयमा हामी नेपाललाई सहयोग गर्न चाहन्छौं,’ राजदूत सोङले भने, ‘आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाहरूको पुनर्निर्माणमा चीन सरकार सघाउन तयार छ।’
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदर्शनकारीको उग्र समूहले सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवास, विभिन्न सरकारी भवनहरूमा आगजनी गरेको थियो।
अर्थमन्त्री खनालले चीनको प्रस्तावप्रति धन्यवाद व्यक्त गर्दै नेपालको विकास र संकटको घडीमा चीनले देखाएको सद्भावको प्रशंसा गरे।
असोज ८, २०८२ बुधबार १२:३४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।