जेन-जी आन्दोलनमा स्वास्थ्य मन्त्रालयको आपत्कालीन संयन्त्र ‘फेल’, कोरिया भ्रमणमा थिए केन्द्र प्रमुख बुढाथोकी

जेन-जी आन्दोलनमा स्वास्थ्य मन्त्रालयको आपत्कालीन संयन्त्र ‘फेल’, कोरिया भ्रमणमा थिए केन्द्र प्रमुख बुढाथोकी

काठमाडौं : भदौ २३ र २४ गते जेन-जी पुस्ताको आन्दोलनमा घाइतेहरूको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्वतयारी, सञ्चार संयन्त्र र व्यवस्थापन प्रणालीको कमजोरी उदाङ्गियो। विपद्को समयमा संयन्त्रले काम गर्न नसक्दा हब अस्पतालहरूमा भएका औषधि तथा स्वास्थ्य सामग्रीले दुई दिन पनि धान्न सकेन।

अस्पतालहरू आफैँ सक्रिय भएर घाइतेको उपचार व्यवस्थापन गरे। आपत्कालीन रूपमा घाइतेको उपचार व्यवस्थापनका लागि समन्वयकारी भूमिकामा अधिक सक्रिय हुनुपर्ने स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) निकै निष्क्रिय बन्यो।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई अन्तर्गत रहने केन्द्रको मुख्य काम नै जनस्वास्थ्य आपत्काल तथा विपद्को समयमा स्वास्थ्य क्षेत्रको प्रतिकार्यका लागि समन्वय गर्ने, सूचना व्यवस्थापन गर्ने र स्रोत परिचालन गर्ने हो। तर २३ र २४ गतेको आन्दोलनमा यो केन्द्रले आफ्नो सक्रिय भूमिका निर्वाह गर्न सकेन। आन्दोलनका क्रममा व्यक्तिको मृत्यु र घाइते हुँदा समेत केन्द्र बेलैमा सक्रिय हुन सकेन।

‘स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधि, २०७२’ अनुसार विपद्को अवस्था नभएको बेला समेत केन्द्र नियमित रूपमा सञ्चालनमा रहनुपर्ने र सातै दिन सतर्क रहनुपर्ने हुन्छ। तर, उपत्यकाकै सिभिल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरजस्ता ‘हब अस्पताल’मा घाइतेलाई जतासुकै राखेर उपचार गरिएको दृश्यले नै केन्द्रको कार्यशैली छर्लङ्ग पारेको थियो भने उपत्यका बाहिर त यसको भूमिका झनै दयनीय थियो।

कार्यविधिअनुसार मन्त्रालयको सम्पर्कमा रहेर काम गर्नुपर्ने अस्पताललाई ‘हब’ अस्पताल भनिन्छ भने त्यसको क्षेत्रभित्र पर्ने अन्य अस्पताललाई ‘स्याटेलाइट अस्पताल’ भनिन्छ। हब अस्पतालले स्याटेलाइट अस्पतालसँग समन्वय गरेर घाइतेको उपचार व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यो दिन घाइतेको केन्द्रबिन्दु बनेको सिभिल अस्पताल पनि हब अस्पताल नै हो। तर, २३ गते सिभिल अस्पताललाई नै घाइतेको चापका कारण उपचार व्यवस्थापन र आवश्यकताअनुसार घाइतेलाई अन्यत्र रिफर गर्न हम्मेहम्मे परिरहेको थियो।

त्यसो त राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसमेत विपद्को त्यो अवस्थामा घाइतेको उपचार व्यवस्थापनको विषयमा सूचना प्रवाहमा चुकेको देखियो। उसले उपचार व्यवस्थापनका लागि न अपिल गर्यो, न त सूचना प्रवाह नै। तर, २३ गते सिभिल अस्पतालमा एक मृतक र दर्जनबढी घाइते पुर्याइएको थाहा पाउने बित्तिकै केन्द्र सक्रिय भएको केन्द्रका एक कर्मचारीको दाबी छ।

साढे ११ बजे अस्पतालमा घाइते पुग्न शुरू भइसकेको थियो तर केन्द्रका सबै संयन्त्र सम्हाल्ने र निर्देशन दिने ‘इन्सिडेन्ट कमान्डर’को भूमिकामा रहेका स्वास्थ्य सचिव डा. विकास देवकोटाको अध्यक्षतामा दिउँसो तीन बजे मात्र केन्द्रको बैठक बस्यो। बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्ने र एम्बुलेन्सहरूलाई सिभिल अस्पतालमा केन्द्रीत हुन निर्देशन दिने निर्णय गर्यो।

यसका अलावा केन्द्रले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत सिभिल र ट्रमा सेन्टरमा रगतसमेत पुर्याउने व्यवस्था मिलाएको केन्द्रका एक कर्मचारीको दाबी छ। तर, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले सर्वसाधारणलाई रक्तदान गर्न गरेको अपिल र घाइतेको उपचार व्यवस्थापनका लागि गरिएको अनुरोध २४ गते विहान मात्र केन्द्रको फेसबुकमा पेजमा राखियो।

केन्द्रको समन्वयमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एम्बुलेन्स र केही औषधि तथा स्लाइन लिएर गएको तीन जना चिकित्सक र तीन जना पारामेडिक्ससहित सिभिल अस्पताल गएको टोली केही घण्टा सिभिल अस्पताल बसेर बेलुकी फर्कियो।

२४ गते बिहानै केन्द्रको टिम स्वास्थ्य मन्त्रालय पुगेको र बिहान करिब १०:३० मा हब अस्पतालहरूसँग करिब आधा घण्टा ‘जुम मिटिङ’ गर्यो। त्यसपछि भने आन्दोलनकारीको हुलदंगा र आगजनीको त्रासले मन्त्रालयमा बस्न नसक्ने अवस्था भएपछि दिउँसो करिब १:३० मा कर्मचारीहरू घर भागे।

बेलुकी आन्दोलनमा घुसपैठ हुँदा अराजक समूहले स्वास्थ्य मन्त्रालय नै जलाइदियो। केन्द्रको टिम निरन्तर स्वास्थ्य मन्त्रालयमा रहेर काम गरिरहेको भए सायद स्वास्थ्य मन्त्रालयमा अराजक समूह छिरेर विध्वंस मच्चाउने जोखिम कम हुन सक्थ्यो। किनकि मन्त्रालय अगाडि रहेको ऐतिहासिक राष्ट्रिय अभिलेखालयको भवन भने केही कर्मचारी र युवा मिलेर जोगाएका थिए।

अस्पतालमा औषधि र सामग्रीको कमजोर व्यवस्थापन
२४ गते सिभिल अस्पताल र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल र ट्रमा सेन्टर) मा उपचार तथा शल्यक्रियाका लागि आवश्यक ‘गज-पिस’, ‘सिरिन्ज’, ‘ग्लोब्स’ लगायतका स्वास्थ्य सामग्रीको अभाव भएको खबर केन्द्रमा पुग्यो।

स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाबाट केही आवश्यक औषधि र स्वास्थ्य सामग्री सिभिल अस्पताल पठाइयो। यी अस्पतालमा विपद्को समयमा दुई दिनलाई पनि सामग्रीले धान्न नसक्नुले पनि उनीहरूको कमजोरीलाई थप उजार गर्छ।

मन्त्रालयको समन्वयपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले २४ गते नै आपत्कालीन रूपमा औषधि व्यवसायीलाई अनुरोध गरेर एम्बुलेन्समार्फत २५ गते सिभिल अस्पतालमा ६ लाखभन्दा बढी मूल्यको औषधि तथा स्वास्थ्य सामग्री पठाइयो।

ट्रमा सेन्टर र वीर अस्पतालले समेत जुनसुकै बेला औषधि आवश्यक पर्न सक्ने जानकारी दिएपछि मात्र थप करिब ८ लाखको औषधि तथा स्वास्थ्य सामग्री खरिद गरेर टेकुमा राखियो।​​​​​​

कोरिया  भ्रमणमा थिए केन्द्र प्रमुख बुढाथोकी
हाल स्वास्थ्य मन्त्रालयअन्तर्गतको केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकी छन्। वीर अस्पतालका दन्त चिकित्सक डा. बुढाथोकीलाई तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेतले दरबन्दीविपरीत काजमा मन्त्रालय ल्याएर केन्द्रको प्रमुख र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिएका थिए। तर, त्यसपछि स्वास्थ्यमन्त्री बनेका प्रदीप पौडेलको रोजाइमा पनि उनै परे।

जेन-जी आन्दोलनको दुई दिनअघि उनी दक्षिण कोरिया गएका थिए। तर, देशमा विपद् पर्दा उपचार व्यवस्थापनमा खटिनुपर्ने मुख्य जिम्मेवारीमा रहेका उनी देश फर्किएनन्।

डा. बुढाथोकी नेपाल चिकित्सक संघका उपाध्यक्षसमेत हुन्। त्यही पहुँचका आधारमा उनी मन्त्रालयमा दरबन्दीविपरीत रहन सफल भएका छन्। मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसी र डा. बुढाथोकीसहित करिब १५ जनाको टोली कोरिया गएको स्रोतले जानकारी दियो। त्यो विपद्को समयमा मन्त्रालयका प्रवक्ता र सूचना अधिकारी दुवैसँग सम्पर्कसमेत हुन सकेन।

अस्पतालहरूको आफ्नै प्रयासमा उपचार
भदौ २३ र २४ गते जेन-जी पुस्ताको नयाँ बानेश्वरकेन्द्रित आन्दोलनले विशेषगरी नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा घाइतेको चाप अत्याधिक बढायो। सिभिल अस्पतालको आकस्मिक कक्ष र त्यससँगै रहेको भुइँतला पूरै घाइतेले भरिएको थियो। अस्पताल नै रणभूमिजस्तै बनेको थियो।

बेडको अभावमा अस्पतालको भुइँमा नै म्याट ओछ्याएर छटपटाइरहेका घाइतेको गोली निकाल्न र उपचार गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ थियो। त्यो दृश्य हेर्दा घाइतेको आकस्मिक उपचार व्यवस्थापनका लागि सिभिल अस्पताल प्रशासनले पर्याप्त पूर्वतयारी देखिँदैनथ्यो।

तर, सिभिल अस्पतालले आन्दोलनको अघिल्लो दिन नै विभागीय प्रमुखसहितको बैठक राखेर केही पूर्वतयारी गरेको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए।

‘त्यो दिन (२३ गते) पनि बैठक बसेर अलर्ट गरिएको थियो,’ डा. रेग्मीले भने, ‘तर, हाम्रो आकलनभन्दा घाइतेको संख्या र अवस्था निकै गम्भीर भयो।’

२३ गते साढे ११ बजेपछि सिभिल अस्पतालमा घाइते पुग्न शुरू भएको उनले जानकारी दिए। घाइतेको संख्या बढ्न थालेपछि ‘डिजास्टर प्रोटोकल’ अनुसार अस्पतालका नियमित उपचार सेवा छोडेर घाइतेको आकस्मिक उपचारमा केन्द्रित भएको डा. रेग्मीले बताए।

‘करिब १२ बजेतिर अस्पतालमा एक जना घाइतेको मृत्यु भइसकेको थियो,’ उनले भने, ‘त्यो बेलासम्म अस्पतालमा घाइतेको संख्या करिब ५० जना पुगिसकेको थियो।’

नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा पनि घाइतेको चाप कम थिएन। तर, जेन-जी आन्दोलनका क्रममा घाइतेको उपचार व्यवस्थापनको विषयमा स्वास्थ्य मन्त्रालय र केन्द्रले कुनै समन्वय नगरेको एभरेस्ट अस्पतालका निर्देशक दीपकचन्द्र बरालले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयसँग सहयोग माग्दा समेत सहयोग नपाएको उनले दुःखेसो पोखे। हब अस्पताल सिभिलमा भने घाइतेको चाप धेरै भएकाले उसले सहयोग गर्न सकेन।

उपचारको समन्वय त परै जाओस्, आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित फरेन्सिक विभागमा पठाउनका लागि समेत मुचुल्का गर्न नसकिएको बरालले बताए।

उता, घाइतेको उपचार गरेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा पनि स्वास्थ्य मन्त्रालय र केन्द्रले २३ र २४ गते समन्वय नगरेको अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए। आफ्नै तरिकाले घाइतेको उपचार व्यवस्थापन गरिएको उनले दाबी गरे।

२४ गतेपछि भने मन्त्रालयले घाइते र मृतकको विवरण मागेको उनले बताए।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य भने २३ गते नै स्वास्थ्य मन्त्रालयका सचिवसमेत रहेको अस्पताल प्रमुखको ‘ह्वाट्सएप ग्रुप’मार्फत घटना र घाइतेको उपचार व्यवस्थापनबारे समन्वय भएको बताउँछन्।

कोरोना भाइरस संक्रमणको समयमा गरिएको भर्चुअल समन्वयको अभ्यास जेन-जी आन्दोलनका घाइतेको उपचार व्यवस्थापनका लागि पनि प्रयोग गरिएको डा. शाक्यको भनाइ छ। त्यसैगरी, २३ गते दिउँसो करिब ३ बजेबाट सिभिल अस्पतालबाट बिरामी रिफर भएर पाटन अस्पतालमा उपचार गरिएको उनले जानकारी दिए।

असोज ८, २०८२ बुधबार ११:४२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।