नवाज र तालत चम्किँदा पाकिस्तानको रोमाञ्चक जित, एसिया कप फाइनलको सम्भावना कायमै

एजेन्सी : पाकिस्तानले एसीसी टी-२० एसिया कपको सुपर फोरमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै फाइनल पुग्ने सम्भावना जीवितै राखेको छ।
मोहम्मद नवाज र हसन तालतको अविजित साझेदारीको मद्दतमा पाकिस्तानले रोमाञ्चक जित निकालेको हो। श्रीलंकाले दिएको १३४ रनको मध्यम लक्ष्य पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
पाकिस्तानको जितमा मोहम्मद नवाजले अविजित रहँदै २४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३८ रन बनाए। उनलाई हसन तालतले ३० बलमा ४ चौकासहित ३२ रन बनाउँदै उत्कृष्ट साथ दिए।
यसअघि ओपनर शाहिबजादा फरहानले १५ बलमा २४ रनको आक्रामक सुरुवात दिलाएका थिए भने फखर जमानले १७ र मोहम्मद हरिसले १३ रन जोडे।
श्रीलंकाका लागि वानिन्दु हसरंगा र महेश थिक्सेनाले समान दुई-दुई विकेट लिए भने दुश्मन्था चामिराको नाममा एक विकेट रह्यो।
त्यसअघि, आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो।
उसका लागि कामिन्दु मेन्डिसले ४४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले। कप्तान चरिथ असलंकाले २०, चामिका करुणारत्नेले १७, कुशल परेरा र वानिन्दु हसरंगाले समान १५-१५ रन जोडे।
पाकिस्तानका लागि तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए। हरिस रौफ र अलराउन्डर हसन तालतले दुई-दुई विकेट हात पारे भने अब्रार अहमदले एक विकेट लिए।
सुपर फोरमा दुवै टोलीको यो पहिलो जित हो। यसअघि पाकिस्तान भारतसँग तथा श्रीलंका बंगलादेशसँग पराजित भएको थियो। अब पाकिस्तानले बिहीबार बंगलादेशसँग खेल्नेछ भने श्रीलंकाले शुक्रबार भारतको सामना गर्नेछ।
असोज ८, २०८२ बुधबार १०:२०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।