ट्रम्पको टिप्पणीको जेलेन्स्कीद्वारा प्रशंसा, भने- ‘अमेरिका सुरक्षा ग्यारेन्टी दिन तयार देखिन्छ’

ट्रम्पको टिप्पणीको जेलेन्स्कीद्वारा प्रशंसा, भने- ‘अमेरिका सुरक्षा ग्यारेन्टी दिन तयार देखिन्छ’

एजेन्सी : रुस-युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बदलिएको धारणाप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सकारात्मक प्रतिक्रिया दिएका छन्।

जेलेन्स्कीले ट्रम्पको व्यवहारमा आएको ‘ठूलो परिवर्तन’ को प्रशंसा गर्दै अमेरिका अब युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन तयार देखिएको बताएका छन्। संयुक्त राष्ट्रसंघमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘यस्तो लाग्छ कि अमेरिका अब युद्ध सकिएपछि युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन तयार छ।’

यद्यपि, ग्यारेन्टी कस्तो हुनेछ भन्ने प्रश्नमा उनले भने, ‘म झुटो बोल्न चाहन्न, हामीसँग कुनै ठोस जानकारी छैन।’ तर, उनले युक्रेनले थप हतियार, हवाई प्रतिरक्षा प्रणाली र ड्रोनहरू पाउन सक्ने सम्भावना औँल्याए।

​​​​​​​पछि फक्स न्युजसँगको कुराकानीमा जेलेन्स्कीले ट्रम्पको ‘ट्रुथ सोसल’ पोस्ट देखेर आफू आश्चर्यचकित भएको तर यसलाई ‘सकारात्मक सङ्केत’ मानेको बताए। उनका अनुसार, यो सङ्केतले ट्रम्प र अमेरिका ‘युद्धको अन्त्यसम्म युक्रेनको साथमा रहनेछन्’ भन्ने देखाउँछ।

जेलेन्स्कीले ट्रम्पको त्यही सोसल मिडिया पोस्टको सन्दर्भमा बोलिरहेका थिए, जसमा ट्रम्पले युरोप र नेटोको समर्थन तथा रुसी अर्थतन्त्रमाथिको दबाबका कारण युक्रेनले ‘आफ्नो मौलिक सिमाना फिर्ता पाउन सक्ने’ बताएका थिए। उक्त पोस्टमा ट्रम्पले रुसलाई ‘खोक्रो बाघ’ (पेपर टाइगर) भनेका थिए।

जेलेन्स्कीले फक्स न्युजसँग थपे, ‘मेरो विचारमा, पुटिनले राष्ट्रपति ट्रम्पसँग धेरै पटक झुट बोलेका कारण पनि यो परिवर्तन आएको हो।’

यसअघि मंगलबार संयुक्त राष्ट्रसंघमा आफ्नो भाषणपछि ट्रम्पले नेटो देशहरूले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने रुसी विमानहरूलाई खसाल्नुपर्ने समेत बताएका थिए। पछिल्लो समय रुसी लडाकु विमान र ड्रोनहरू नेटो देशको हवाई सीमामा प्रवेश गरेका घटनाहरू बढेका छन्।

असोज ८, २०८२ बुधबार ०९:३१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।