मुग्लिन-नारायणगढ सडक खुलाउन दिनभर लाग्ने, यी वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

मुग्लिन-नारायणगढ सडक खुलाउन दिनभर लाग्ने, यी वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

काठमाडौं : मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोलामा खसेको ठूलो पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ।

मंगलबार साँझदेखि अवरुद्ध सडक खुलाउने प्रयासस्वरूप आज बिहानैबाट पहिरो हटाउने काम शुरू गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीले एक सूचना जारी गर्दै पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

‘तुइन खोलाको पुल नजिकै मंगलबार साँझ ४:५० बजे गएको ठूलो पहिरोले सडक पूर्णरूपमा बन्द छ। पहिरो पन्छाउन दिनभरजसो लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौँ’, सूचनामा उल्लेख छ।

पहिरोका कारण सडक दुईतर्फी नै बन्द हुँदा सवारीसाधनहरू रोकिएका छन्। यसपछि स्थानीय प्रशासनले विभिन्न वैकल्पिक सडकहरू प्रयोगका लागि सुझाव दिएका छन्।

प्रहरीले सुझाएका वैकल्पिक सडकहरू:
त्रिभुवन राजपथ: (नौबिसे-हेटौंडा)
कान्ति राजमार्ग: (सातदोबाटो-हेटौंडा)
कालीगण्डकी कोरिडोर: (गैंडाकोट-पाल्पा-रामपुर-भिमाद-तनहुँ)
धादिङ-गोरखा: (फिर्केखोला-धादिङबेंसी-सल्यानटार-आरुघाट-आँबुखैरेनी)
बुटवल-पोखरा राजमार्ग

असोज ८, २०८२ बुधबार ०८:४४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।