रुसलाई ‘खोक्रो बाघ’ हो, युक्रेनले आफ्नो भूमि फिर्ता लिन सक्छ : राष्ट्रपति ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्धबारे आफ्नो धारणामा ठूलो परिवर्तन गरेका छन्। उनले रुसलाई ‘खोक्रो बाघ’ (पेपर टाइगर) को संज्ञा दिँदै युक्रेनले आफ्नो गुमेको भूमि फिर्ता लिन सक्ने बताएका छन्।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै उनले भनेका छन्, ‘युरोप र नेटोको समर्थन तथा रुसी अर्थतन्त्रमा बढ्दो दबाबका कारण युक्रेनले युद्ध शुरू हुनुअघिको आफ्नो मौलिक सिमाना फिर्ता पाउन सक्छ।’
ट्रम्पले ‘युक्रेन र रुसको सैन्य तथा आर्थिक स्थितिलाई पूर्ण रूपमा बुझेपछि’ आफ्नो सोच बदलिएको बताएका छन्। उनले रुसलाई खोक्रो बाघको संज्ञा दिँदै थपे, ‘पुटिन र रुस ठूलो आर्थिक संकटमा छन् र युक्रेनका लागि अब कारबाही गर्ने समय आएको छ।’
उनको यो बयान युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटवार्तापछि आएको हो। ट्रम्पले मंगलबार न्युयोर्कमा संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरेपछि जेलेन्स्कीसँग भेट गरेका थिए।
यसअघि ट्रम्पले पटक-पटक आफूले युद्ध अन्त्य गर्न चाहेको बताउँदै आएका थिए। तर, उनले युद्धविराम वा सम्झौताका लागि युक्रेनले आफ्ना केही भू-भागहरू छोड्नुपर्ने हुन सक्ने सङ्केत दिएका थिए।
यद्यपि, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले कुनै पनि हालतमा भूमि नछोड्ने कुरा निरन्तर दोहोऱ्याउँदै आएका छन्।
असोज ८, २०८२ बुधबार ०७:५७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।