मुग्लिन-नारायणगढको पहिरोले विकल्प बन्यो तनहुँ-गैंडाकोट सडक

मुग्लिन-नारायणगढको पहिरोले विकल्प बन्यो तनहुँ-गैंडाकोट सडक

दमौली : मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोलामा निरन्तर खस्ने पहिरोले दशैंको मुखमा यात्रुहरूले सास्ती भोगिरहेका छन्।

सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहँदा यसको विकल्पमा तनहुँ हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडक प्रयोग गर्न सकिने देखिएको छ।

पहिरोका कारण मुख्य राजमार्गमा घण्टौ जाममा फस्नुपर्ने बाध्यता भएपछि साना सवारीसाधनका लागि वैकल्पिक मार्गको खोजी बढेको हो।

जानकारहरूका अनुसार तनहुँको खैरेनीटारबाट भीमाद, मानपुर, डेढगाउँ, बुलिङटार र ढोडेनी हुँदै गैँडाकोट निस्कन सकिन्छ। यो सडक गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा निर्माणाधीन छ र मुस्ताङलाई तराईसँग जोड्ने लक्ष्य राखेको छ।

यो बाटो प्रयोग गरिसकेका प्रकाशचन्द्र भट्टराईका अनुसार खैरेनीटार-भीमाद (७ किमि) र मानपुर-डेढगाउँ (४० किमि) खण्ड कालोपत्रे छ भने भीमाद-मानपुर (३५ किमि) खण्ड कच्ची रहेको छ।

डेढगाउँबाट गैँडाकोटसम्मको दूरी करिब ७० किलोमिटर छ। लामो दूरी भए पनि पहिरोको अनिश्चितताबाट बच्न यो मार्ग उपयोगी हुन सक्छ।

यसैगरी, मोटरसाइकल चालकहरूका लागि दमौलीबाट केशवटार, सुखौरा, हुस्लाङ र धरमपानी हुँदै घुमाउने झोलुङ्गे पुल तरेर मुग्लिन-नारायणगढ सडकखण्डमा निस्कने अर्को छोटो बाटो पनि रहेको स्थानीय विजय रानाले जानकारी दिए।

उनका अनुसार मुग्लिनको बाटो बन्द हुँदा केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गरिरहेका छन्।

असोज ८, २०८२ बुधबार ०७:४३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।