देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको चेतावनी

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ।
महाशाखाद्वारा जारी पूर्वानुमान अनुसार, आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनेछ। त्यस्तै, लुम्बिनी प्रदेश र बाँकी पहाडी क्षेत्रका थोरै स्थानमा तथा तराईका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना छ।
आज राति देशको पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। रातिको समयमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले भारी वर्षा हुन सक्ने प्रदेशहरूका पहाडी क्षेत्रमा पहिरो तथा आकस्मिक बाढीको जोखिम रहन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
असोज ८, २०८२ बुधबार ०७:११:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।