नवरात्रको तेस्रो दिन देवी चन्द्रघण्टाको पूजा आराधना

काठमाडौं : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज, नवदुर्गामध्येकी तेस्रो स्वरूप चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देशभरका शक्तिपीठ तथा दशैंघरहरूमा देवीको उपासना भइरहेको छ।
शिरमा अर्धचन्द्र र हातमा घण्ट धारण गर्ने भएकाले यी देवीको नाम चन्द्रघण्टा रहन गएको हो।
पौराणिक ग्रन्थहरूका अनुसार पहेंलो वर्णकी यिनले आसुरी शक्तिको विनाश गर्छिन्। शान्त र करुणामयी स्वरूपकी चन्द्रघण्टा देवीको साधनाले साधकमा शक्ति, चमक र निर्भयता प्राप्त हुने विश्वास गरिन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार चन्द्रघण्टा देवीको साधनाले मणिपुर चक्र जागृत हुन्छ। विशेषगरी गीत-सङ्गीत र कला क्षेत्रमा लागेका साधकहरूले चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने गर्दछन्। यिनको कृपाले समग्र पाप नाश हुने र जीवनमा ऐश्वर्य प्राप्त हुने जनविश्वास छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिए झैँ आज तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिएको हो।
नवरात्रभरि दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत पाठ गर्ने परम्परा छ। यस पर्वमा क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिनेछ।
नवरात्रभरि देशभरका शक्तिपीठहरूमा दर्शनार्थीको विशेष भीड लाग्ने गर्दछ। आश्विन शुक्ल प्रतिपदादेखि शुरू भएको यो आराधना विजयादशमी हुँदै कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाइन्छ।
असोज ८, २०८२ बुधबार ०७:०३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।