रूसी हवाई क्षेत्र उल्लङ्घनप्रति नाटोको गम्भीर आपत्ति, गतिविधि तत्काल रोक्न चेतावनी

एजेन्सी : नाटोले पूर्वी युरोपमा बढिरहेका रूसी हवाई क्षेत्र उल्लङ्घनप्रति गम्भीर आपत्ति जनाउँदै रुसलाई ती गतिविधि तत्काल रोक्न कडा चेतावनी दिएको छ।
गत साता इस्टोनियाको हवाई क्षेत्रमा रूसी लडाकु विमान करिब १२ मिनेटसम्म अनधिकृत प्रवेश गरेपछि नाटोले आपतकालीन बैठक बोलाएको थियो। त्यसपछि मङ्गलबार ३२ सदस्य राष्ट्रहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “रुसले यस्ता खतरनाक र उत्तेजनात्मक कार्यहरूको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ। यस्ता गतिविधिले दुर्घटना, गलत आकलन र ज्यानको जोखिम बढाउँछन्, त्यसैले तत्काल बन्द गरिनुपर्छ।”
विज्ञप्तिमा थप भनिएको छ, “हामी अन्तर्राष्ट्रिय कानुनअनुसार आवश्यक पर्ने सबै सैन्य वा गैर–सैन्य उपाय अपनाउन तयार छौँ।”
रूसी हवाई उल्लङ्घनलगत्तै नाटोले आफ्ना लडाकु विमान परिचालन गरेको थियो। यसअघि पोल्याण्डको आकाशमा देखिएका रूसी ड्रोन खसालिएको घटनापछि पनि सतर्कता बढाइएको थियो। यस्ता गतिविधि दोहोरिन थालेपछि नाटोले पोल्याण्ड, रोमानिया, लाट्भिया, लिथुआनिया र फिनल्याण्डसहित पूर्वी सीमाका राष्ट्रहरूको सुरक्षा थप मजबुत गर्ने निर्णय गरेको छ।
नाटोले स्पष्ट गरेको छ, “रुसका गैरजिम्मेवार गतिविधिहरूले हाम्रो युक्रेनप्रतिको समर्थनमा कुनै असर पार्दैन।”
इस्टोनियाले यस घटनापछि नाटोको संस्थापक सन्धिको धारा ४ अन्तर्गत आपतकालीन परामर्शको माग गरेको हो। उक्त धारा अनुसार, कुनै सदस्य राष्ट्रले आफ्नो भू–सम्प्रभुता वा सुरक्षामा खतरा महसुस गरे तत्काल बैठक बोलाउन सक्छ।
रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेयता यो तेस्रो पटक धारा ४ प्रयोग भएको हो। नाटोको धारा ५ अनुसार भने, कुनै सदस्यमाथि आक्रमण भए बाँकी सबै सदस्य राष्ट्रहरूले मिलेर उसको रक्षा गर्नुपर्ने हुन्छ। यो धारा अहिलेसम्म एकपटक मात्र-सन् २००१ को सेप्टेम्बर ११ को अमेरिकामाथिको आक्रमणपछि-प्रयोग गरिएको थियो।
असोज ७, २०८२ मंगलबार २२:२४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।