पूर्वक्याप्टेन लिम्बुलाई नेपाल वायुसेवा निगमले भन्यो- भ्रामक प्रचार नगर्नुहोस

काठमाडौं : नेपाल वायुसेवा निगमले पूर्वक्याप्टेन तथा महाप्रबन्धकसमेत रहेका कुलबहादुर लिम्बुलाई भ्रामक सूचना र कपोलकल्पित प्रचार नगर्न आग्रह गरेको छ।
निगमले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा लिम्बु सम्बन्धी सर्वोच्च अदालतको आदेशअनुसार निगमले दिन नसकिने सुविधा माग गरिँदै आएका भन्दै यस्तो कार्यले निगमको गरिमा र प्रतिष्ठामा आँच पुर्याउने ठहर भएको उल्लेख गरिएको छ।
लिम्बु संलग्न विमान दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उनको इजाजतपत्र निलम्बन गरेको थियो। त्यसपश्चात् निगमसँगको उनको करार सेवा पनि सकिएको निगमले स्पष्ट पारेको छ। सर्वोच्च अदालतले समेत लिम्बुलाई हटाइएको निर्णयलाई कायम राखेको निगमको भनाइ छ।
यद्यपि लिम्बुले सेवाबाट हटाइएको अवधिको सात महिनाको तलब माग्दै आएका थिए। तर निगमले त्यसका लागि कुनै कानुनी आधार नभएको र तत्कालीन व्यवस्थापनले नै सो विषयमा निर्णय गरेर जानकारी गराइसकेको जनाएको छ।
निगमका प्रवक्ता सुवास डाँगीले भने, “निगमसँग सम्बन्धित कपोलकल्पित, गैरकानुनी र भ्रामक सूचनाहरु अनधिकृत रूपमा सार्वजनिक नगर्न पूर्वमहाप्रबन्धकलाई यसै विज्ञप्तिमार्फत अनुरोध गरिएको छ। यदि यस्ता कार्य जारी रह्यो भने निगम कानुनी उपचारमा जान बाध्य हुनेछ।”
असोज ७, २०८२ मंगलबार २०:४५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।