१८ वर्षसम्म ‘हल्का रमाइलो’मै अड्किएका केदार

काठमाडौं : दुई दशकदेखि हास्यकलाकार केदारप्रसाद घिमिरे एउटै भूमिकामा अड्किएका देखिन्छन्। १८ वर्षअघि नेपाल टेलिभिजनबाट प्रसारण भएको हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा उनले अभिनय गरेको ‘माग्नेबुढा’ कै हाउभाउ र शैली अहिले पनि बेचिरहेका छन्। उनले त्यो भन्दा फरक पात्रमा आफूलाई देखाउन सकेका छैनन्।
हास्य टेलिफिल्म होस् या फिल्म, उनी माग्नेबुढा कै पात्रमा देखिन्छन्। बोल्ने शैली पनि त्यही छ। अहिले उनले त्यो समयमा लगाउने बादरे टोपी र पुराना दौरा-सुरुवाल भने प्रयोग गर्दैनन्। तर बोली र हाउभाउमा खासै परिवर्तन आएको छैन।
टेलिफिल्म छाडेर उनी फिल्ममा लागे। टेलिफिल्म तीतो सत्य का दीपकराज गिरी र दीपाश्री निरौलाको टिमसँग मेरी बास्सै का धेरै कलाकार मिसिए। जिरे खोर्सानीका जितु नेपाल र शिवहरि पौडेल पनि मिसिएका थिए। अहिले त्यो टिम फुटे पनि केदार घिमिरे बाहिरिन सकेका छैनन्।
अधिकांश कलाकारहरूले आफ्नो अभिनय शैली फेरिरहेका छन्। जितु नेपाल फिल्म कार्साङमा फरक भूमिकामा देखिए। सिताराम कट्टेलले पनि परिवर्तन गरे। तर केदार भने अझै पनि ‘हल्का रमाइलो’ मै अड्किएका छन्।
दीपक-दीपाको टिमको छक्का पञ्जा सिरिजमा पनि उनी ‘हल्का रमाइलो’ नै भन्दै आएका छन्। आफ्नै मुख्य भूमिकामा बनेको फिल्म माग्ने राजा मा पनि त्यही पुरानो शैली थियो, जहाँ उनी माग्ने नै बने। दर्शकले त्यतिसम्म रुचाए पनि उनको अभिनयभन्दा पारिश्रमिककै चर्चा बढी भयो। २०६१ सालमा पारिश्रमिकबारेको चर्चा मिडियामा मात्र होइन, सामाजिक सञ्जालमा पनि भयो। फिल्मले पनि राम्रै कमाइ गर्यो।
छक्का पञ्जा टिम भन्दा बाहिर पनि आफ्नो स्टारडम देखाउन उनले कोसिस गरे। दर्शकलाई खटाएर हल हलमा भेला गराए। उनको मेहनतले दर्शक तानियो।
तर असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्म माइतीघर को ट्रेलरमा पनि उनी उही ‘हल्का रमाइलो’ भन्दै देखिएका छन्। ट्रेलरको अन्त्यमा उनले फेरि पनि “हाहाहा... हल्का रमाइलो” भनेका छन्, जुन नयाँ कुरा होइन।
उनी १८ वर्षअघि देखि एउटै क्यारेक्टरमा छन्। उनको ‘हल्का रमाइलो’मा दर्शकलाई पनि दिग्दार लाग्न थालेका छन्। अब नयाँ शब्द खोज्ने कि अझै उही हल्का रमाइलो मै काम चलाउने, केदारजी?
असोज ७, २०८२ मंगलबार २०:३४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।