डेराको दैलोबाट ओलीले पढाए अनुशासनको पाठ, साथमै रहेका बस्नेतले बजाए ताली

डेराको दैलोबाट ओलीले पढाए अनुशासनको पाठ, साथमै रहेका बस्नेतले बजाए ताली

काठमाडौं  : जेनजी आन्दोलनपछि एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पहिलोपटक भाषण गरे। भक्तपुरको गुण्डुस्थित डेराको दैलोबाट ओली करिब पाँच मिनेट बोले। 

बायाँ तिर एमाले नेता महेश बस्नेत र दायाँ तिर युवा संघका अध्यक्ष क्षितिज थेबेलाई राखेर ओलीले भने- युवाहरूलाई हामीले अनुशासित बनाउनु पर्छ। ओलीले यसो भनिरहँदा बस्नेतले ताली बजाइरहेका थिए। ओलीलाई शिवपुरीमा ल्याएर भक्तपुरमा डेराको व्यवस्थापन गर्ने उनै बस्नेतले जेनजी आन्दोलनपछि सामाजिक सञ्जालबाट लगातार गैरजिम्मेवार र अनुशासनहीन टिप्पणी गरिरहेका छन्।   

‘युवाहरूलाई देश र जनतालाई माया गर्ने पंक्तिमा उभ्याउनुपर्छ। असभ्य र गैरजिम्मेवार हुनु युवापन होइन, जिम्मेवार हुनु नै सच्चा युवापन हो,’ ओलीले भने। ओलीले त्यो पाँच मिनेटमा आँगनमा उभिएका कार्यकर्तालाई धेरै अर्ती उपदेश दिए।उनले समाजलाई सही दिशामा अघि बढाउन नयाँ पुस्ताले सधैं इमान्दार, पारदर्शी र सभ्य संस्कृतिमा आधारित आनीबानी विकास गर्नुपर्नेमा जोड दिए।

साथै ओलीले आजपनि सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्ने आशय व्यक्त गरे।  ‘नलेज मात्र होइन, असल क्यारेक्टर पनि सिकाउन जरुरी छ। बाह्य लगानीका सञ्चार क्षेत्र खासगरी सामाजिक सञ्जालमा सहभागी हुने। त्यसको प्रभावमा पर्ने र त्यसको सदुपयोग गरिराखेको छु वा छैन भनेर राम्रोसँग विचार नगरेर हल्का ढंगले चल्ने प्रवृत्तिहरू विकास भएको छ। त्यो प्रवृतिलाई हामीले अन्त्य गर्नुपर्छ,’ उनले भने।​

उनले हाल नेपाल अन्तर्राष्ट्रिय स्तरमा भिसा नदिने र काम नदिने अवस्थासम्म पुग्नु दुःखद रहेको उल्लेख गर्दै देशलाई फेरि इमान्दार, कर्मठ र सभ्य नागरिकको पहिचानमा उभ्याउन युवापुस्ताको भूमिका अपरिहार्य हुने बताए।

सिंहदरबारमा आगजनीलगायत पछिल्ला घटनाहरू योजनाबद्ध भएको दाबी गर्दै ओलीले देशभक्त नागरिकले त्यस्तो कार्य कहिल्यै नगर्ने स्पष्ट पारे। ‘देशलाई माया गर्ने मान्छेले सिंहदरबार जलाउँदैन। त्यस्ता काम घुसपैठिएका तत्वले गरेका हुन्,” उनले भने।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह प्रति लक्षित गर्दै उनले भने- ‘देशलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र ? पक्कै जलाएन। अरूनै कुनै घुसपठिए तत्वहरू जो पहिले देखिनै भन्दै थिए। सिंहदरबार जलाउँछु।’  

अन्त्यमा उनले कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै भने, ‘बादल लाग्यो भन्दैमा सूर्य उदाउँदै भन्ने होइन। हिम्मत नहारौँ, हरेश नखाऔँ।’

 

ओलीले जे भनेः

युवाहरूलाई देशभक्त बनाउनुपर्छ। देश र जनतालाई माया गर्ने युवाहरूको पंक्ति तयार गर्नुपर्छ। नयाँ पुस्ता समाजप्रति अन्यन्त जिम्मेवार हुनुपर्छ। हामी आफू अत्यन्त जिम्मेवार नागरिकको रुपमा देश बनाउने कर्मठको रुपमा जानुपर्छ। हाम्रो आनीबानी, घर व्यवहार, बोलीचाली सबै अत्यन्तै शान्त सुमधुर हुनुपर्छ। हामी सभ्य सुसंस्कृत हुनुपर्छ। असभ्य हुनु युवापन होइन्। गैरजिम्मेवार हुनु युवापन होइन। जिम्मेवार हुनु युवापन हो। जहाँपनि हामी इमान्दार हुनुपर्यो। छलकपट होइन् पारदर्शी हुनुपर्यो। आजकाल नलेज सिकाउने तर असल क्यारेक्टर चाहिन्छ भनेर नसिकाउने परिपाटी छ। अनि बाह्य लगानीका सञ्चार क्षेत्र खासगरी सामाजिक सञ्जालमा सहभागी हुने। त्यसको प्रभावमा पर्ने र त्यसको सदुपयोग गरिराखेको छु वा छैन भनेर राम्रोसँग विचार नगरेर हल्का ढंगले चल्ने प्रवृत्तिहरू विकास भएको छ। त्यो प्रवृतीलाई हामीले अन्त्य गर्नुपर्छ। अहिले कस्तो भयो। भिसा नदिने काम दिने अवस्था आइसक्यो। नेपाल बदनाम अवस्थामा पुगिसक्यो। त्यसबाट हामीले जोगाउनुपर्छ। नेपाल इमान्दार र कर्मठ मान्छेको देश हो। जिम्मेवार मान्छेको देश हो। अत्यन्तै सभ्य मानिषहरूको देश हो। एउटा सभ्यताको लामो इतिहास भएको देश हो। र त्यो सभ्यतालाई विकास गरेर लाग्न तम्तयार नयाँ पीडी भएको देश हो। भनेर हामीले अगाडि बढाउनु पर्छ। जे जति क्षति भयो। देशलाई त्यसबाट उठाएर लग्नुपर्नेछ। फेरी यसप्रकारका घटनाहरू हुन नदिन हामी संगठित भएर जानुपर्नेछ। हिम्मत नहारेर, हरेश नखाएर अगाडि बढ्नुपर्नेछ। यो देश हाम्रो हो हामीले बनाउनु पर्छ। युवाहरू लाग्नुपर्छ। अरुको उक्सावटमा गएर कसले जलायो थाहा छैन। सिंहदरबार जलाइयो। कसले जलायो । देशलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र । पक्कै जलाएन। अरूनै कुनै घुसपठिए तत्वहरू जो पहिले देखिपनि भन्दै थिए। सिंहदरबार जलाउँछु। अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हमला गरेको धेरैपल्ट भइसक्यो। यो एउटा योजनाबद्ध काम हो। यस्तो कुरा हामीले बुझ्नुपर्छ। बादल लाग्यो भन्दैमा बादल हट्दैन भन्ने छैन। साँझ पर्यो भन्दैमा भोलि बिहान उज्यालो हुन्छ भन्ने कुरा विश्वास गर्नुपर्छ। 

असोज ७, २०८२ मंगलबार २०:०१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।