८० वर्षीया आमाले छोरीलाई दिइन् मृगौला, किष्ट अस्पतालमा भयो सफल प्रत्यारोपण

८० वर्षीया आमाले छोरीलाई दिइन् मृगौला, किष्ट अस्पतालमा भयो सफल प्रत्यारोपण

काठमाडौं : म्याग्दीकी ८० वर्षीया गुमा भण्डारीले आफ्नी ५५ वर्षीया छोरीलाई मृगौला दान गरेकी छन्। किष्ट अस्पतालमा सम्पन्न सफल प्रत्यारोपणमार्फत उनले छोरी सीता पाण्डेलाई दोस्रो जीवन दिएकी हुन्।

गम्भीर स्वास्थ्य समस्याले थला परेकी पाण्डेलाई चिकित्सकहरूले जीवन सुरक्षित गर्न मृगौला प्रत्यारोपण आवश्यक भएको निष्कर्ष निकालेपछि भण्डारीले दाता बन्ने निर्णय गरेकी थिइन्। 

अस्पतालका अनुसार प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएपछि पाण्डेको स्वास्थ्यमा सुधार आएको छ। सर्जरीपछि देखिएको उनको मुस्कानले अस्पतालमा खुशी र आशा थपिएको जनाइएको छ।

किष्ट अस्पतालले यसलाई केवल चिकित्सकीय सफलता मात्र नभई मातृत्व, साहस र बलिदानको प्रेरणादायी घटना भनेको छ। समाजमा यस घटनाले ८० वर्षको उमेरमा पनि आमाको ममता अटुट रहने प्रमाणित गरेको उपचारमा संलग्न एक चिकित्सकले बताए।

किष्ट अस्पताल नेपालकै निजी क्षेत्रबाट मृगौला र कलेजो प्रत्यारोपण गर्ने अनुमति प्राप्त पहिलो अस्पताल हो। यहाँ हालसम्म सबैभन्दा धेरै मृगौला र कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको अस्पताल प्रशासनले जनाएको छ।

असोज ७, २०८२ मंगलबार १९:०२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।