निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मंगलबार महासंघमा स्वागत गर्दै उनले निजी क्षेत्र देशकै सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निशानामा पर्नु गम्भीर विषय भएको बताए। “आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनु भनेको यसको महत्व बुझ्न नसकिएको हो भन्ने अनुभूति हुन्छ,” उनले भने। यस विषयमा सञ्चारकर्मीहरूले तथ्यमा आधारित दृष्टिकोण बनाउनुपर्नेमा पनि उनले जोड दिए।
ढकालका अनुसार निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो, जसले कुल अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरेको छ। उनले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण हालसम्म प्रारम्भिक रूपमा करिब ८० अर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको जानकारी दिए।
उनले पछिल्लो आन्दोलनपछि सरकारले छोटो समयमै राहत प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल बढाउने काम गरेको भन्दै त्यसलाई महासंघले सकारात्मक रूपमा लिएको बताए।
सो कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पछिल्ला घटनाले उद्योगी व्यवसायीमा असुरक्षाको भावना बढाएको उल्लेख गर्दै शान्ति–सुरक्षा कायम गर्न आग्रह गरे। उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासनका लागि निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र आवश्यक रहेको धारणा राखे। कोषाध्यक्ष भरतराज आचार्यले अर्थतन्त्र पुनर्निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य अपरिहार्य भएको बताए।
सेजनका अध्यक्ष भागवत भट्टराईले आर्थिक पत्रकारितामार्फत खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीको पक्षमा निरन्तर पैरवी गर्दै आएको स्मरण गर्दै महासंघसँगको सहकार्यलाई अझै प्रगाढ बनाउन तयार रहेको बताए।
महासंघले बदलिँदो राजनीतिक परिस्थितिमा संयुक्त रूपमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै, उठाइएका विषय समग्र देशकै आर्थिक विकास र समृद्धिका लागि रहेको स्पष्ट पारेको छ।
असोज ७, २०८२ मंगलबार १८:४७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।