‘अभिमन्यु’को रिलिज डेट सरेको सर्यै, दर्शक अलमलमा

काठमाडौंः नेपाली फिल्मका निर्माता-निर्देशकहरू हतारमा फिल्मको रिलिज डेट तोक्छन्। तर तोकेको मितिसम्म काम पूरा हुँदैन अनि फेरि सारिन्छ। फिल्म रिलिज मिति सार्ने रोग नेपाली चलचित्र क्षेत्रमा नयाँ होइन। तर मिति सरेर पनि फिल्म हिट भएको उदाहरण खासै छैन। यसरी पटक-पटक सार्दा फिल्म चर्चामा त आउँछ, तर दर्शकमा विश्वास घट्छ।
यस्तै अवस्था फिल्म ‘अभिमन्यु’मा पनि देखिएको छ। गत भदौ २७ गते रिलिज हुने भनिएको यो फिल्म जेनजी आन्दोलनका कारण स्थगित भयो। त्यतिबेला न हल खुले, न लागेको फिल्म चले। आन्दोलनकै कारण देशभर पाँचभन्दा बढी हलमा तोडफोड र आगजनीसमेत भएको थियो।
त्यसपछि निर्माता विनोद पौडेलले फिल्मलाई दसैंको फूलपातीमा सार्ने निर्णय गरे। तर सो दिनमै ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ जस्ता तीन फिल्म प्रदर्शनमा आउँदै थिए।
यी सबैले एक वर्षअघि नै रिलिज मिति घोषणा गरेका थिए। त्यसमाथि बलिउड फिल्म पनि रिलिज हुने भएपछि हलवालाले ‘अभिमन्यु’लाई शो दिने चासो देखाएनन्। त्यसैले अन्ततः निर्माण पक्षले रिलिज मिति असोज २४ मा सारे, जुन दिन अरू कुनै नेपाली फिल्म रिलिज घोषणा भएको छैन। अब यो फिल्म सिङ्गल हलमै प्रदर्शन हुने भएको छ।
तर, दसैं र तिहारको बीचमा फिल्म आउँदा दर्शक हलमा कत्तिको आउँछन् भन्ने अनिश्चित छ। दर्शकलाई पक्का विश्वास दिलाउन सकेन भने फेरि पनि रिलिज मिति सार्न बेर छैन। सुरुमा नै पक्का निर्णय गरेर मिति तोकेको भए निर्माता पौडेललाई अहिलेको तनाव लिनु पर्दैनथ्यो। दर्शकले पनि सजिलै सम्झन्थे। तर अहिले त दर्शक नै अलमलमा छन्-‘अभिमन्यु’ साँच्चै असोज २४ मै रिलिज हुन्छ कि फेरि मिति सर्ला!
असोज ७, २०८२ मंगलबार १७:१३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।