‘गैरदलीय’ सरकारको सञ्चारमन्त्री नेपाली कांग्रेसको क्रियाशील सदस्य

काठमाडौं : नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेल नेपाल कांग्रेसको क्रियाशील सदस्य रहेको पुष्टि भएको छ। अन्तरिम सरकारमा संसदमा प्रतिनिधित्व गर्ने दलका सदस्यहरूसहितको मन्त्रिपरिषद् गठन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले भने पनि आफूले अस्विकार गरेको प्रधानमन्त्री सुशीला कार्कीले दाबी गरेकी थिइन्।
तर उनले सोमबार सञ्चारमन्त्रीमा नियुक्त गरेका खरेल नेपाली कांग्रेस दोलखाको क्रियाशील सदस्य रहेको नेपाल तथ्य जाँचले पुष्टि गरेको हो। पार्टीको गतिविधिमा सक्रिय रहेका व्यक्तिलाई मात्र नेपाली कांग्रेसले क्रियाशीलताको सदस्यता दिन्छ।
दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर १ का खरेल दोलखाबाटै कांग्रेसको क्रियाशील सदस्य रहेको विवरण पार्टीको आधिकारिक साइटमै रहेको नेपाल तथ्य जाँचले उल्लेख गरेको छ। नेपाल तथ्य जाँचले उल्लेख गरे अनुसार खरेलको नाम बागमती प्रदेशको दोलखा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १, प्रदेश सभा २, कालिन्चोक गाउँपालिका, वडा नम्बर ७ को क्रियाशील सदस्यहरूको नामावलीको क्रमसंख्या १५३ मा रहेको छ।
खरेल पार्टीको क्रियाशील सदस्यको हैसियतमा जिल्ला अधिवेशनका लागि २०७८ असोजमा क्षेत्रीय प्रतिनिधि चयन भएका थिए। खरेल लामो समय इमेज टेलिभिजनमा काम गर्दै आएका थिए। जेनजी आन्दोलनको बलमा केपी ओली नेतृत्वको सरकार अपदस्थ भएपछि कार्कीको नेतृत्वमा ६ महिनाभित्र निर्वाचन गर्ने सर्तमा बनेको सरकारले सोमबार खरेलसहित चार जनालाई मन्त्री नियुक्त गरेको थियो।
असोज ७, २०८२ मंगलबार १५:२३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।