ट्रम्पसँग वार्ता गर्न मदुरोले गरेको प्रस्ताव ह्वाइट हाउसद्वारा अस्वीकार

ट्रम्पसँग वार्ता गर्न मदुरोले गरेको प्रस्ताव ह्वाइट हाउसद्वारा अस्वीकार

एजेन्सी : भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न प्रस्ताव गरे पनि ह्वाइट हाउसले त्यसलाई अस्वीकार गरेको छ। सोमबार सार्वजनिक प्रतिक्रियामा अमेरिकाले मदुरोको पत्रलाई ‘झुटले भरिएको’ भन्दै नीति परिवर्तन नगर्ने स्पष्ट गरेको हो।

मदुरोले दुई कट्टर शत्रुबीच संवादमार्फत तनाव कम गर्ने इच्छा व्यक्त गरेका थिए। तर अमेरिकाले भने उनको शासनलाई अझै ‘अवैध’ मानिरहेको बताएको छ।

यसबीच, ट्रम्प प्रशासनले लागुऔषध विरोधी अभियानका लागि दक्षिणी क्यारिबियन क्षेत्रमा आठ युद्धपोत र एक पनडुब्बीसहित ठूलो मात्रामा सैन्य तैनाथ गरेको छ। यो तैनाथी पछिल्ला वर्षमै सबैभन्दा ठूलो मानिएको छ।

भेनेजुएलाले भने यसलाई शासन परिवर्तनको संकेतका रूपमा लिएको छ। रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले अमेरिकामाथि ‘अघोषित युद्ध’ चलाएको आरोप लगाएका छन्। उनका अनुसार अमेरिकी सेनाले लागुऔषध डुङ्गा नियन्त्रणको बहानामा ‘रक्षाको अधिकार बिना मृत्युदण्ड’ दिएको छ।

मदुरोले आइतबार सार्वजनिक गरेको पत्रमा अमेरिकाले लगाएको लागुऔषध कार्टेलसँगको संलग्नताको आरोपलाई ‘पूर्णतया झुटो’ भनेका छन्। उनले ट्रम्पलाई शान्ति कायम राख्न आग्रह गर्दै भेनेजुएलाको सत्यको रक्षा गर्ने सङ्कल्प पनि व्यक्त गरेका छन्।

तर विपक्षी नेताहरू भने विभाजित देखिएका छन्। निर्वासित नेता एडमन्डो गोन्जालेज उरुटियाले अमेरिकी कदमलाई आपराधिक संरचना ध्वस्त पार्न आवश्यक भनेका छन्। अर्की नेतृ मारिया कोरिना मचाडोले पनि यसलाई समर्थन गर्दै भेनेजुएलाका गिरोहहरू अमेरिकाको सुरक्षामा खतरा बनेको बताइन्।

तर पूर्व राष्ट्रपति उम्मेदवार हेनरिक क्याप्रिल्सले भने अमेरिकी हस्तक्षेपको विरोध गर्दै समाधान सैन्य नभई राजनीतिक बाटोमै खोज्नुपर्ने तर्क गरेका छन्। उनका अनुसार विदेशी हस्तक्षेपले उल्टै मदुरोलाई बल पुर्याउने छ।

गत वर्ष विवादास्पद पुनःनिर्वाचनपछि भेनेजुएलामा हिंसात्मक प्रदर्शन भएका थिए। त्यस क्रममा दुई दर्जनभन्दा बढी मारिएका र सयौँ पक्राउ परेका थिए। विपक्षीहरूले गोन्जालेज उरुटियाले नै वास्तविक जीत हात पारेको तर मचाडोलाई प्रतिबन्ध लगाइएकाले परिणाम फेरिएको आरोप लगाइरहेका छन्। अहिले गोन्जालेज निर्वासनमा स्पेनमा छन् भने मचाडो भेनेजुएलामै लुकेर बसिरहेकी छन्।

असोज ७, २०८२ मंगलबार १३:५८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।