जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल गिरायो, विदेशी लगानी रोकियो: अध्यक्ष पाण्डे

काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले हालैको जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल गम्भीर रूपमा घटाएको बताएका छन्।
आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीले लगानीको सुरक्षामाथि प्रश्न उठेको उनको भनाइ छ।
नेपाल आर्थिक पत्रकार संघ (सेजन)ले मंगलबार आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ विषयक कार्यक्रममा बोल्दै उनले आन्दोलनका कारण औद्योगिक क्षेत्रमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत बराबरको क्षति पुगेको अनुमान प्रस्तुत गरे।
अध्यक्ष पाण्डेले आन्दोलनकै कारण एउटा ‘ज्वाइन्ट भेन्चर’मा आउन लागेको विदेशी लगानी रोकिएको खुलासा गर्दै भने, ‘लगानीकर्ताका लागि लगानीको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सरकारले यसको प्रत्याभूति दिन सक्नुपर्छ।’
अर्थतन्त्रलाई चाँडो पुनरुत्थान गर्न सरकारले तत्काल अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
‘अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट के-कस्ता सुविधा दिन सकिन्छ, त्यसतर्फ सरकारको ध्यान जान आवश्यक छ’, उनले भने।
उनले ठूला उद्योगहरूलाई निश्चित समयका लागि सहुलियत दिनुपर्ने र लगानीमैत्री कानुनहरूलाई छरितो र सरल बनाउनुपर्ने सुझाव दिए।
अध्यक्ष पाण्डेले देशको शिक्षा प्रणालीमा पनि सुधार आवश्यक रहेको औंल्याए।
‘शिक्षामा लगानी छ, तर त्यसको प्रतिफल कम छ’, उनले भने।
उनले अब ऊर्जा, पर्यटन, शिक्षा र कृषि जस्ता प्राथमिकताका क्षेत्रहरू पहिचान गरी ठोस काम गर्नुपर्ने धारणा राखे।
असोज ७, २०८२ मंगलबार १२:०२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।