मान्यता दिने देशहरू बढेसँगै प्यालेस्टाइनी राष्ट्रपतिद्वारा हमासलाई हतियार छोड्न आग्रह

एजेन्सी : प्यालेस्टाइनलाई धेरै देशहरूले एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएपछि प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले हमासलाई हतियार छोड्न आग्रह गरेका छन्।
उनले संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै यस्तो अपिल गरेका हुन्।
अब्बासले गाजामा शासन गर्न हमासको कुनै भूमिका नहुने स्पष्ट पार्दै उनीहरूलाई आफ्ना सबै हतियार ‘प्यालेस्टाइनी अथोरिटी’लाई बुझाउन आग्रह गरे। आफ्नो सम्बोधनमा उनले स्थायी युद्धविराममा जोड दिए।
‘हामी हतियार बिनाको एउटा संगठित राष्ट्र चाहन्छौं’, उनले भने।
प्यालेस्टाइनी राष्ट्रपतिले सन् २०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणको निन्दा पनि गरे।
उनले इजरायली जनतालाई सम्बोधन गर्दै भने, ‘हाम्रो र तपाईंको भविष्य शान्तिमा निर्भर छ, अब हिंसा र युद्ध हुनुहुँदैन।’
अमेरिकाले राष्ट्रपति अब्बास र अन्य प्यालेस्टाइनी अधिकारीहरूको भिसा रद्द गरिदिएका कारण उनले भिडियो लिङ्कमार्फत महासभालाई सम्बोधन गरेका थिए।
असोज ७, २०८२ मंगलबार ११:२१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।