प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने विषयमा बोल्यो संयुक्त्त राष्ट्र संघ

न्युयोर्क : फ्रान्सले संयुक्त राष्ट्र महासभामा प्यालेस्टाइनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेको छ।
यो घोषणा बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले प्यालेस्टाइनलाई औपचारिक मान्यता दिएको एक दिनपछि आएको हो, जसले मध्यपूर्वमा नयाँ कूटनीतिक हलचल पैदा गरेको छ।
यस निर्णयप्रति प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनीहरूको राष्ट्रिय मान्यतालाई ‘पुरस्कार नभई अधिकार’ भएको बताएका छन्।
उनले यस्तो मान्यता नदिनुले विश्वभरका अतिवादीहरूलाई ‘उपहार’ दिएसरह हुने चेतावनी दिए।
गुटेरेसले इजरायल र प्यालेस्टाइनबीच स्थायी शान्तिको एकमात्र मार्ग ‘दुई-राष्ट्रिय समाधान’नै भएको कुरामा जोड दिए।
‘दुई-राष्ट्रिय समाधान नै इजरायल र प्यालेस्टाइनका जनताका लागि स्थायी शान्ति, मध्यपूर्वमा बृहत् शान्ति र सुरक्षाको एकमात्र विश्वसनीय मार्ग हो’, उनले भने।
यद्यपि, प्यालेस्टाइनलाई मान्यता दिने यो कदमको इजरायलले कडा विरोध गरेको छ।
आइतबार बेलायत, क्यानडा र अष्ट्रेलियाले मान्यता दिएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ‘आतंकवादका लागि ठूलो पुरस्कार’को संज्ञा दिएका थिए।
असोज ७, २०८२ मंगलबार १०:२५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।