‘पैसा नही दिया तो मार के फेक दुङ्गा’ भनेर फिरौती मागेकै भोलिपल्ट १५ वर्षीय बालकको हत्या, के थियो सन्देशमा?

‘पैसा नही दिया तो मार के फेक दुङ्गा’ भनेर फिरौती मागेकै भोलिपल्ट १५ वर्षीय बालकको हत्या, के थियो सन्देशमा?

सिरहा : ‘प्रहरीलाई खबर गर्ने कोसिस गरिस् भने मारेर फालिदिन्छु।’

यो सन्देश सिरहाका एक १५ वर्षीय किशोरको परिवारलाई अपहरणकारीले पठाएका थिए। तर, उनीहरूको यो धम्कीपूर्ण चेतावनी सन्देश पठाएको भोलिपल्टै अपहरित किशोरको शव विभत्स अवस्थामा फेला परेको छ।

गोलबजार नगरपालिका-१३ डंग्राहाका १५ वर्षीय अभिषेक महतोको अपहरणपछि एसिड खन्याएर विभत्स हत्या गरियो। आइतबार रातिदेखि बेपत्ता भएका उनको शव मंगलबार बिहान घर नजिकैको आँप बगैँचामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो।

आइतबार रातिदेखि छोरा बेपत्ता भएपछि आत्तिएको महतो परिवारलाई सोमबार बिहान करिब ८ बजे अभिषेककै मोबाइलबाट एउटा सन्देश आयो। उनकी आमाको मोबाइलमा हिन्दी भाषामा पठाइएको उक्त सन्देशमा अपहरणकारीले ५ करोड रुपैयाँ फिरौती मागेका थिए।

सन्देशमा भनिएको थियो:

‘तुमहारा आदमी हमारे पास है। अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङ्गे। अगर नहि दिया तो मार के फेक दुङ्गा। पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा। हमे २५ तारिक तक पैसा चाहिए नहितो मार दुङ्गा। तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए। जानकारी के लिए हम विहार से है। टेन्सन नही लेना तुम्हरा आदमी सहि सलामत है। बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङ्गा।’

सन्देशमा अपहरणकारीले आफूहरू भारतको विहारबाट भएको र २५ तारिखसम्म पैसा नदिए हत्या गर्ने स्पष्ट धम्की दिएका थिए। धम्कीका बाबजुद परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, प्रहरी निरीक्षक धर्मेश कुमार यादवले सोमबार नै परिवारबाट जानकारी आएपछि अनुसन्धान शुरू गरिएको बताए। तर, प्रहरीले अनुसन्धान अगाडि बढाउँदै गर्दा अपहरणकारीले अभिषेकको उनकै घरनजिक हत्या गरे।

असोज ७, २०८२ मंगलबार १०:०१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।