सिरहामा ५ करोड फिरौती माग्दै बालकको अपहरण, एसिड खन्याएर विभत्स हत्या

काठमाडौं : सिरहामा पाँच करोड रुपैयाँ फिरौती माग्दै अपहरण गरिएका एक बालकको क्रूरतापूर्वक हत्या गरिएको छ।
गोलबजार नगरपालिका-१३ डंग्राहाका १५ वर्षीय अभिषेक महतो आइतबार रातिदेखि बेपत्ता भएकोमा मंगलबार बिहान घर नजिकै मृत फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार, महतोको शव घरबाट करिब तीन सय मिटर टाढाको आँप बगैँचामा भेटिएको हो।
उनको हातखुट्टा बाँधिएको र शरीरमा एसिड खन्याएर विभत्स हत्या गरिएको अवस्थामा शव आँपको रुखमुनि फेला परेको प्रहरीले जनाएको छ।
आफ्नै ट्याक्टर चलाउने अभिषेक आइतबार राति खाना खाएर घर नजिकैको चोकतिर गएका थिए, तर त्यसपछि उनी सम्पर्कमा आएनन्।
परिवारले रातभर खोजतलास गरे पनि उनी भेटिएनन्। सोमबार बिहानै अपहरणकारीले परिवारको मोबाइलमा ५ करोड रुपैयाँ फिरौती मागेपछि घटनाले अपहरणको मोड लिएको थियो।
फिरौतीको सन्देश पाएलगत्तै परिवारले प्रहरीलाई खबर गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, प्रहरी निरीक्षक धर्मेश कुमार यादवले घटनाको पुष्टि गर्दै अनुसन्धानलाई गम्भीरतापूर्वक अगाडि बढाइएको बताए।
‘मंगलबार विहान शव भेटिएपछि अनुसन्धानलाई अगाडि बढाएका छौँ। अहिले हामी अनुसन्धानकै चरणमा छौँ’, उनले उकेरासँग भने।
उनले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रदेश प्रहरी कार्यालयबाट समेत विशेष टोली खटिएर अनुसन्धान भइरहेको जानकारी दिए।
असोज ७, २०८२ मंगलबार ०९:३६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।