भद्रकालीमा श्रद्धालुको घुँइचो, सात तस्वीरमा दशैंको दोस्रो दिन

काठमाडौं : नेपाली हिन्दूहरूको महान चाड बडादशैंको दोस्रो दिन आज देशभरका विभिन्न शक्तिपिठमा दर्शनार्थीहरूको भीड लागेको छ।
ब्रह्मचारिणीको पूजा हुने आज काठमाडौं उपत्यकाको मध्यभागमा रहेको भद्रकाली मन्दिरमा पनि दर्शनार्थीको घुँइचो छ।
दर्शनार्थीहरू भद्रकाली देवीको पूजा आराधनाका लागि लामो लाइन लागेका छन्। लाइन पूरा गरेर मन्दिरमा पुगेकाहरू पूजाआजामा व्यस्त देखिन्छन् भने केही धूपबत्ती गरिरहेका छन्।
श्रद्धालुहरू दुर्गा माताको पूजा गरी वर्षभरि सुख, शान्ति र समृद्धिको कामना गर्दै गाडीहरूमा फूलमाला चढाई पूजापाठ गरिरहेका छन्।
हिजोबाट शुरू भएको बडादशैंको अवसरमा काठमाडौंको हनुमानढोकासहित देशभरका दशैंघरमा बढाइँका साथ जमरा राखिएको छ। उक्त जमरा विजयादशमीको दिनमा दुर्गाको प्रसादको रूपमा ग्रहण गर्ने परम्परा रहेको छ।
बडादशैं लागेसँगै देवी मन्दिरहरूमा श्रद्धालुहरूको चहलपहल बढ्न थालेको छ।
असोज ७, २०८२ मंगलबार ०९:०५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।