धवलागिरि आरोहणको आकर्षण, जोखिमका बाबजुद २४ आरोहीले लिए अनुमति

म्याग्दी : चालु शरदयाममा विश्वको सातौं अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) आरोहणका लागि २४ जनाले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार, म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा अवस्थित यस हिमाल आरोहणका लागि अनुमति लिनेहरूबाट ५० लाख ७१ हजार रुपैयाँ सलामी दस्तुर सङ्कलन भएको छ।
शरद ऋतुमा सगरमाथाबाहेकका हिमालहरूमध्ये आरोहीको मुख्य रोजाइमा मनास्लु पर्ने गरेको छ।
यस सिजनमा मनास्लुका लागि ३७४ जनाले अनुमति लिएका छन् भने सर्वाधिक आरोहण अनुमति जारी भएको हिमालमा धवलागिरि दोस्रो स्थानमा छ।
आरोहणका लागि टोलीहरू आधार शिविरतर्फ प्रस्थान गर्न थालेका छन्।
धवलागिरि-४ का वडा सदस्य तथा इटली आधार शिविरका होटल व्यवसायी हरिप्रसाद तिलिजाका अनुसार, यस वर्ष आरोहीहरूले मुस्ताङको मार्फा हुँदै आधार शिविर जाने बाटो प्रयोग गरिरहेका छन्।
म्याग्दीको मुदी-बगर हुँदै जाने पुरानो पदमार्ग बिग्रिएको र लामो भएकाले वैकल्पिक मार्ग रोजिएको हो।
छिनछिनमा बदलिरहने मौसमका कारण धवलागिरि आरोहणलाई अन्य हिमालभन्दा बढी जोखिमपूर्ण र साहसिक मानिन्छ।
यसको चुनौतीपूर्ण प्रकृतिले नै साहसी आरोहीहरूलाई आकर्षित गर्ने गरेको छ। गत वर्षको शरदयाममा पनि आरोहणका क्रममा हिउँपहिरोमा परी पाँच जना रुसी पर्वतारोहीले ज्यान गुमाएका थिए।
सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरसहितको टोलीले पहिलोपटक धवलागिरिको सफल आरोहण गरेर इतिहास रचेको थियो।
असोज ७, २०८२ मंगलबार ०८:३७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।