जेनजी प्रदर्शनको असर : २२ अर्ब २५ करोडभन्दा बढीको बिमा दाबी, बागमतीमा सबैभन्दा धेरै क्षति

जेनजी प्रदर्शनको असर : २२ अर्ब २५ करोडभन्दा बढीको बिमा दाबी, बागमतीमा सबैभन्दा धेरै क्षति
तस्बिर- दीपेश श्रेष्ठ/उकेरा

काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिको बीमा दाबी रकम २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार प्रदर्शनका कारण भएको निजी सम्पत्तिको क्षतिबापत देशभरबाट उक्त रकम दाबी भएको हो।

प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार, माइक्रो इन्स्योरेन्ससहित १८ वटा बिमा कम्पनीमा कुल २ हजार ४७८ वटा दाबी आवेदन परेका छन्। क्षतिको मात्रा ठूलो भएकाले दाबी रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी क्षति बागमती प्रदेशमा भएको छ, जहाँ कुल दाबीको करिब ८० प्रतिशत हिस्सा छ।

बागमतीमा १ हजार ३४३ वटाबाट  १७ अर्ब ९७ करोड ७२ लाखको दाबी पर्दा कोशीमा ३२२, मधेशमा २४६, गण्डकीमा १८४, लुम्बिनीमा २०२, सुदूरपश्चिममा १५९ र कर्णाली प्रदेशमा २२ वटा दाबी परेको छ।

सबैभन्दा बढी दाबी रकम ओरियन्टल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्समा परेको छ। ओरियन्टल इन्स्योरेन्समा ५ अर्ब २२ करोड ९८ लाख र सिद्धार्थ इन्स्योरेन्समा  रु. ५ अर्ब ८ करोड २८ लाख रुपैयाँको दाबी परेको कम्पनीहरूले जनाएका छन्।

दाबी परेका बीमामध्ये मोटर बीमा १ हजार ७७८ वटा, सम्पत्ति बीमा ५३८ वटा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा १३२ वटा र परिवहनसहितका अन्य बीमा ३० वटा रहेका छन्।

असोज ७, २०८२ मंगलबार ०७:४०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।