नवदुर्गाको दोस्रो रूप : ब्रह्मचारिणी देवीको पूजा-आराधना गरिँदै

नवदुर्गाको दोस्रो रूप : ब्रह्मचारिणी देवीको पूजा-आराधना गरिँदै

काठमाडौं : आश्विन शुक्ल द्वितीया अर्थात् नवरात्रको दोस्रो दिन आज देशभरका दशैंघर तथा पूजा कोठामा नवदुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विशेष पूजा-आराधना गरिँदैछ।

नवरात्रको पहिलो दिन सोमबार विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै नवदुर्गाको पूजा शुरू भएको थियो। पहिलो दिन शैलपुत्री देवीको पूजा-आराधना गरिएको थियो भने आज दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ।

नवरात्रभरि दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत जस्ता ग्रन्थ पाठ गर्ने चलन छ। देवीको पूजा-आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

यही विश्वासका साथ वैदिक सनातन धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष भक्तिभावका साथ दुर्गा देवीको आराधना गर्छन्। नौ दिनसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गरिन्छ।

‘ब्रह्म’ अर्थात् तपस्या र ‘चारिणी’ अर्थात् आचरण गर्ने देवी भएकाले उनलाई ‘ब्रह्मचारिणी’ भनिएको हो। उनी ज्ञान र तपस्याकी प्रतिमूर्ति मानिन्छिन्।

धार्मिक मान्यताअनुसार, ब्रह्मचारिणी देवीले सच्चिदानन्द स्वरूप ब्रह्मको ज्ञान गराउँछिन्। उनको एक हातमा जपको माला (अक्षमाला) र अर्को हातमा कमण्डलु हुन्छ।

नवरात्र शुरू भएसँगै देशभरका शक्तिपीठहरूमा दर्शनार्थीहरूको भीड लाग्न थालेको छ। मन्दिरहरूमा विशेष चहलपहल देखिएको छ।

असोज ७, २०८२ मंगलबार ०७:२२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।