पाकिस्तानको दुर्गम सीमा क्षेत्रमा भएको हवाई आक्रमणमा परि २३ जना सर्वसाधारणको मृत्यु

एजेन्सी : पाकिस्तानको दुर्गम सीमा क्षेत्रमा सोमबार भएको हवाई आक्रमणमा कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु भएको छ। प्रहरी र सुरक्षा निकायका स्रोतले जानकारी दिएका छन्।
विपक्षी सांसदहरूले सेनाले आतङ्कवाद विरोधी अभियानको नाममा राति छापा मारेको दाबी गरेका छन्। तर सरकारले यसबारे अहिलेसम्म कुनै औपचारिक टिप्पणी गरेको छैन।
हालैका महिनामा पाकिस्तानी तालिबान (टिटिपी) लडाकूले अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाकर्मीविरुद्ध आक्रमण बढाएका छन्।
राष्ट्रिय सभाका विपक्षी सांसद इकबाल अफ्रिदीले एएफपीसँग कुरा गर्दै भने, “सुरक्षा बलको विमानले गोलाबारी गर्दा २३ जनाको मृत्यु भएको छ।”
त्यसैगरी प्रान्तीय सांसद सोहेल खान अफ्रिदीले विधानसभामा बोल्दै सेनाको आलोचना गर्दै भने, “यो आक्रमण निहत्था नागरिकमाथि भएको आक्रमण भन्दा फरक छैन।”
दुवै सांसद जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सदस्य हुन्। खैबर पख्तुनख्वा क्षेत्र खानको पार्टीको प्रभाव क्षेत्र मानिन्छ।
तिराहमा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार मारिनेहरूमध्ये सात महिला र चार बालबालिका रहेका छन्। उहाँले नाम गोप्य राख्ने सर्तमा भने, “जेटहरूले चार घरलाई निशाना बनाए, ती घर पूर्ण रूपमा ध्वस्त भएका छन्।”
तिराह पाकिस्तान–अफगानिस्तान सीमासँग नजिक रहेको र त्यहाँ टिटिपी लडाकूहरूले गोप्य रूपमा शरण लिएको विश्वास गरिन्छ। हालैका महिनामा यस क्षेत्रमा सुरक्षाकर्मीमाथि लगातार आक्रमण हुँदै आएका छन्।
पेशावरका एक सुरक्षा अधिकारीले मृतकको सङ्ख्या पुष्टि गर्दै उक्त क्षेत्रमा ‘टिटिपी लुकेका धेरै स्थान’ रहेको बताए। तर आक्रमण कसले गरेको भन्ने खुलाउन अस्वीकार गरे।
सोमबार दिउँसो करिब दुई हजार मानिस नजिकैको शहरमा भेला भई आक्रमणविरुद्ध प्रदर्शनमा उत्रिएका थिए।
सन् २०१४ मा सुरु भएको आतङ्कवाद विरोधी अभियानअघि टिटिपीले अफगानिस्तानसँग सीमा जोडिएको ठूलो भूभाग नियन्त्रणमा लिएको थियो।
शनिबार छिमेकी जिल्लामा भएको आक्रमणमा १२ पाकिस्तानी सैनिक मारिएका थिए। सेनाले सोमबार अबेर विज्ञप्ति जारी गर्दै सप्ताहन्तको कारबाहीमा ३१ जना ‘ख्वारिज’ मारिएको दाबी गरेको छ। ‘ख्वारिज’ शब्द सेनाले टिटिपी लडाकूलाई जनाउन प्रयोग गर्छ।
असोज ६, २०८२ सोमबार २२:२९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।