सात थान पेस्तोल, ६ वटा म्याग्जिन र ३३ राउण्ड गोलीसहित दुई जना पक्राउ

सात थान पेस्तोल, ६ वटा म्याग्जिन र ३३ राउण्ड गोलीसहित दुई जना पक्राउ
सांकेतिक तस्विर

काठमाडौं : काठमाडौंको खरिबोटस्थित कार वास सेन्टरको पार्किङबाट प्रहरीले सात थान पेस्तोल, छ थान म्याग्जिन र ३३ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुर घर भई तारकेश्वर-५ लोलाङ बस्ने ३० वर्षीय हिराबहादुर मगर र रामेछाप मन्थली घर भई हाल काठमाडौं-१६ बोहरेटार बस्ने २८ वर्षीय लक्ष्मण श्रेष्ठ छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दका अनुसार हिराबहादुरले प्रयोग गर्दै आएको बा प्र ०१-००२ प ६४४९ नम्बरको ट्याक्सीमा हतियार भएको सूचनाका आधारमा प्रहरीले तलासी लिँदा डिक्कीभित्र लुकाइएका पेस्तोल र गोली भेटिएका हुन्।

हिराबहादुरलाई हिजो र लक्ष्मणलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट पेस्तोल सात थान, म्याग्जिन छ थान, एसएलआर राइफलका ३३ राउण्ड गोली, वाकीटकी ब्याट्रीसहितका सामग्री बरामद गरिएको छ।

फेला परेका हतियारबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

असोज ६, २०८२ सोमबार २१:१५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।