पढेलेखेका साइकल मिस्त्री ‘बृहस्पति’

सुदूरपश्चिम : धनगढी उपमहानगर-१ को सडक छेउमै एउटा सानो टहरो छ, जहाँ बिहानदेखि बेलुकासम्म साइकल मर्मत गरिरहेका देखिन्छन् बृहस्पति बुढाक्षेत्री। दिन ढल्केपछि भने उनी हातमा लागेको ग्रीस पुछ्दै कैलाली बहुमुखी क्याम्पस तिर लाग्छन्। जहाँ उनी अहिले स्नातकोत्तर तहमा अध्ययनरत छन्।
५६ वर्षका बृहस्पतिले धेरै वर्ष भारतमा बिताए। ३८ वर्षको उमेरमा मात्रै विवाह गरे। आज उनका दुई छोराहरू बोर्डिङ स्कुलमा पढिरहेका छन्। साइकल मर्मत गरेरै उनले धनगढीमा घर-जग्गा जोडिसकेका छन्।
तर पढे-लेखेकाहरूले पनि साइकल मर्मत गर्ने कामलाई तल्लो दर्जाको काम ठान्ने उनको अनुभव छ। ‘पढे-लेखेकाले साइकल मर्मतलाई तल्लो दर्जाको काम ठान्छन्, तर म शान र मानसहित यही व्यवसायमा रमाइरहेको छु,’ उनले भने।
अछाम पुर्ख्यौली घर भएका बृहस्पति युवा पुस्तालाई विदेशिनु भन्दा आफ्नै ठाउँमा बसेर उद्यम गर्न आग्रह गर्छन् । उनको जीवन अनुभव पनि त्यस्तै छ। सुरुका दिनमा छोरा पढ्ने विद्यालयमा शुल्क बुझाउन जाँदा कर्मचारीको अपहेलनाले उनलाई छोयो । तर अर्को दिन उनले अंग्रेजीमा प्रतिउत्तर दिएपछि त्यही विद्यालयको व्यवहार बदलियो। ‘आफूसँग योग्यता भए कति कदर हुँदो रहेछ भन्ने त्यतिबेला थाहा पाएँ,’ उनी सम्झिन्छन्।
उनको टहरो आज साइकल मर्मत गर्ने ठाउँ मात्र होइन् दिउँसो बुद्धिजीवी, समाजसेवी र शिक्षित युवाहरू भेला भएर देशको सामाजिक, राजनीतिक र आर्थिक विषयमा छलफल गर्ने चौतारी बनेको छ।
सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डिन पदमकान्त जोशीले उनको खुलेर प्रशंसा गरे। ‘स्नातकोत्तर गर्दै साइकल मर्मत गर्ने बृहस्पति शिक्षित बेरोजगारका लागि उदाहरणीय पात्र हुनुहुन्छ। उहाँले देखाउनुभएको श्रमको सम्मान अहिलेको युवापुस्ताले सिक्नैपर्छ,’ उनले भने।
बुढाक्षेत्री पढाइसँगै श्रमलाई सम्मान गर्न सके देशमै बसेर पनि सफल जीवन जिउन सकिन्छ भन्ने उदाहरण बनेका छन्।
असोज ६, २०८२ सोमबार २०:५४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।