घटस्थापनाको छेको पारेर तक्मेले रिलिज गरे ‘मैझारो’को टिजर

काठमाडौं : घटस्थापनाको अवसर पारेर फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले सोमबार १ मिनेट ५८ सेकेण्ड लामो टिजर रिलिज गरेको हो।
सार्वजनिक टिजरमा फिल्मका इलाम तथा पाँचथरका समुदायको कथा प्रस्तुत गरिएको छ। फिल्मका मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेमलाई निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) ले पर्दामा उतार्ने प्रयास गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। उनले आफैंले लेखेको कथामा इलामको चिया बगान र गाउँले परिवेशलाई उठाएका छन्।
दर्शकबीच कमेडियनका रूपमा परिचित तक्मेबुढाले यस फिल्ममार्फत फरक शैलीको कथा भिन्न ढंगले प्रस्तुत गर्न खोजेको देखिन्छ। त्रिकोणात्मक प्रेमकथामा आधारित ‘मैझारो’ मा धिरज, मिरुना र दियासँगै दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायत कलाकारको अभिनय रहेको छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा बनेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत छ। राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीलगायतका गायक-गायिकाले स्वर दिएका छन्।
सौरभ लामाले खिचेको यो फिल्मलाई आरआर फिल्म्सले वितरण गर्ने भएको छ। फिल्म आगामी कात्तिक ७ गतेदेखि प्रदर्शनमा आउँदैछ।
असोज ६, २०८२ सोमबार २०:०५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।