‘परिवर्तन’को पोस्टर रिलिज, माघ ९ देखि प्रदर्शनमा आउने

काठमाडौं : दिब्यासी फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘परिवर्तन’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार पोस्टरसहित फिल्मको प्रदर्शन मिति घोषणा गर्दै आगामी माघ ९ (जनवरी २३) लाई रिलिज डेट तोकेको हो।
पोस्टरमा अभिनेता सुशील श्रेष्ठ एक्शन अवतारमा देखिएका छन्। आगो, लडाइँ र प्रतिशोधको भाव झल्काउने उक्त पोस्टरमा उनले हातमा समातेको तरबारमा आगोको ज्वाला देखिन्छ। पोस्टरमै परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्ष र सस्पेन्स-एक्शन मिश्रित कथाको संकेत गरिएको छ।
फिल्ममा सुशीलसँगै अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारीलगायतका कलाकारको भूमिका रहेको छ। निर्देशन विजय केरुङ ले गरेका हुन् भने कथा तथा निर्माण दीपक सिवाकोटी को हो।
फिल्मको एक्शन निर्देशन श्री श्रेष्ठ ले गरेका छन्। व्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणले दिएका हुन्। डिओपी शिव ढकाल, सम्पादन बन्दे प्रसाद, सह-सम्पादन उमेश थापा, सह-निर्देशन नवराज शर्मा र कलरिस्ट राजेन्द्र मोक्तान रहेका छन्।
निर्माण पक्षका अनुसार फिल्मको कथा, संवाद र गीत-संगीत नेपाली समाजमा देखिएको परिवर्तनको चाहनासँग जोडिएको छ। प्रोडक्सन अरुण रेग्मीले सम्हालेका छन् भने फिल्मको डिजिटल साझेदार ‘ओएसआर’ र वितरण आर.आर. फिल्म्सले गर्ने भएका छन्।
असोज ६, २०८२ सोमबार १९:२४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।