६ महिनामा कायापलट नभएपनि सरकार निर्मम भएर काम गर्दैछ भन्ने अनुभूति गराउन सकिन्छ : मन्त्री खरेल

६ महिनामा कायापलट नभएपनि सरकार निर्मम भएर काम गर्दैछ भन्ने अनुभूति गराउन सकिन्छ : मन्त्री खरेल

काठमाडौं : नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले ६ महिनाभित्रका केही फाउन्डेसनहरू स्थापना गर्नुपर्ने बताए।

आज शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर खनालले पदभार ग्रहण गर्दै ६ महिनामा कायापलट नभएपनि राम्रो सुरुवात गर्ने बताए।  

उनले भने, ‘हुन त ६ महिनाको लागि सञ्चारमन्त्री आएर कुनै कायापलट हुने होइन्। तर भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले देखिने गरेर र जनतालाई महसुस हुनेगरी यो ६ महिनाभित्रका केही फाउन्डेसनहरु हामीले स्थापना गर्नुपर्ने छ।’

यस्तै, उनले खरानी टक्टक्याएर जीवन र धरोहरहरुको पुननिर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै भ्रष्टाचारको विषयमा सरकार निर्मम भएर काम गरिरहेको छ भन्ने अनुभूति जनतालाई गराउनुपर्ने बताए। 

उनले भने, ‘भ्रष्टाचार पनि ६ महिनामा हट्दैन। तर घटाउँदै जाने हो। जनताले पनि यो विषयमा सरकार निर्मम छ है, काम गर्दै छ है भन्ने अनुभूति गराउन सकिन्छ। हामी खरानी टक्टक्याएर जीवन र धरोहरको पुनःनिर्माण गर्नुपर्ने छ।’ 

राजनीतिक हस्तक्षेप भएन भने र नेता र मन्त्रीको चम्चा बनिएन भने स्वतन्त्र रुपमा अगाडि बढ्न सकिने पनि उनको भनाई छ।

असोज ६, २०८२ सोमबार १७:५२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।