‘मन्त्रालयमै बस्छु, आफैं पकाएर खान्छु, बाहिर जाँदा सुरक्षा पनि चाहिँदैन’

‘मन्त्रालयमै बस्छु, आफैं पकाएर खान्छु, बाहिर जाँदा सुरक्षा पनि चाहिँदैन’

काठमाडौं : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्री क्वाटर र सरकारबाट प्राप्त हुने सेवा नलिने भन्दै मन्त्रालयको गाडी पनि कामबाहेक अन्त प्रयोग नगर्ने बताएका छन्।

आज सोमबार शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर पुनले पदभार गर्दै उनले यस्तो बताए। ‘मलाई मन्त्री क्वाटर चाहिंदैन्। सचिवज्यूलाई म अहिले नै के निर्देशन दिन चाहन्छु भने यही एउटा कोठा बनाउनु, त्यहाँ एउटा खाट भए पुग्छ। एउटा टेबुल र एउटा कुर्सी भए हुन्छ। म जहाँ गएपनि जुन ठाँउमा काम गरेको त्यही बस्ने बानी छ। म आफैं पकाएर खान पनि सक्छु। मैले सुरक्षाकर्मीहरुलाई पनि भनेको छु, मन्त्रालयबाट बाहिर जाँदा मेरो पछि आउनु पर्दैन्। मेरो आफ्नो गाडी नभएको हुँदा मन्त्रालयको गाडी भने आउनजान प्रयोग गर्छु। अन्त कतै जानको लागि मन्त्रालयको गाडी प्रयोग गर्दिन्,’ उनले भने। 

यस्तै, उनले समितिहरु बनाउने कुरामा नाम मात्रको समिति नबनाउने भन्दै सानै काम भएपनि ठोस हुनुपर्ने बताए। 
उनले भने, ‘समिति मात्र बनाएर हुँदैन्। पहिला यसमा आर्थिक स्रोत खोज्नुपर्छ। सँधै मन्त्रालयमा अड्किने कुरा भनेको नै पैसा छैन भनेर हो। नाम मात्रको पनि समिति नहोस्। समिति बनाउने काम नगर्ने हाजिर गर्ने, दुई चार पटक मिटिङ् बस्ने अनि जे कुरा पनि पैसाले रोकिने गर्नु भएन्। म यो समितिको सदस्य भनेर भिजिटिङ् कार्डमा राखेर मात्र भएन। के जे काम गरेपनि ठोस हुनुपर्यो, चाहे सानै होस्।’

शिक्षा ऐनको बारेमा आफूलाई ज्ञान नभएको भन्दै यसबारे विज्ञहरुलाई इमान्दारीपूर्वक सुझाव दिनुपर्ने पनि उनको भनाई छ। उनले भने, ‘शिक्षा ऐनको बारेमा केही थाहा छैन। यो कस्तो ऐन बनाएको हो  थाहा छैन। त्यसको लागि विज्ञहरुको टोली बनाउछु। उहाँहरुले जस्तो सुझाव दिनु हुन्छ त्यो अनुसार अगाडि बढ्ने हो। सबै कुरा मैले भनेको हुनुपर्छ भनेर म भन्दिन्। आज म सबैलाई आह्वान गर्छु विज्ञहरुलाई एकदमै इमान्दारिपूर्वक सुझाव दिनुहोस। सबैको बुद्धि जम्मा पारेर अगाडि बढौ भन्ने हो।’

 उनले विज्ञान मन्त्रालयले अझसम्म केही काम गर्न नसकेको भन्दै अब ६ महिनामा केही न केही काम भने गर्ने पनि बताए।

असोज ६, २०८२ सोमबार १७:२९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।