विवादित पृष्ठभूमिकी संगीता : न मन्त्री बनिन्, न त जागिरै रह्यो

विवादित पृष्ठभूमिकी संगीता : न मन्त्री बनिन्, न त जागिरै रह्यो

काठमाडौं : आर्थिक अनियमिततामा जोडिएकी डा. संगीता कौशल मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनबाट रोकिएकी छन्।

आइतबार मन्त्री नियुक्तिका लागि मिश्रासहित पाँच जनाको नाम सिफारिस भएको थियो। तत्कालीन स्वास्थ्य मन्त्री मोहन बस्नेतको पालामा विभागले अनियमित रूपमा गरेको खरिद निर्णयमा प्रत्यक्ष जोडिएकी मिश्रालाई स्वास्थ्यमन्त्री बनाउन भ्रष्टाचार विरोधी जेनजी आन्दोलनको बलमा बनेको सरकारले आइतबार उनलाई सिफारिस गरेको थियो।

स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवका रुपमा रहेकी डा. मिश्राले मन्त्री बन्ने पक्का भएपछि आइतबार नै राजीनामा दिएकी थिइन्। उनको राजीनामा समेत स्वीकृत भइसकेको स्रोतको दाबी छ। 

उनीसहित पाँच जनालाई मन्त्रीमा नियुक्त गर्न आइतबार साँझ नै राष्ट्रपति कार्यालयमा नाम पठाइएको थियो। तर, बीचमा उकेरामा मिश्राबारे प्रकाशित समाचारको अध्ययनपछि उनलाई नियुक्त गर्दा विवाद हुने देखेर प्रधानमन्त्रीको सचिवालयबाट राष्ट्रपति कार्यालयमा तत्काल नियुक्ति प्रक्रिया अघि नबढाउन अनुरोध गर्दै फोन गएको थियो।

निवर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सिफारिसमा केपी ओली नेतृत्वको सरकारले डा. विकास देवकोटालाई स्वास्थ्य सचिव बनाएपछि मन्त्रालयबाट बिदा लिएर उनी कानुनी लडाइँका लागि सर्वोच्च अदालत गएकी थिइन्। उनको मुद्धा अझै टुंगिएको छैन। उनी पनि कहिले तत्कालिन सतारुढ दल कांग्रेस त कहिले मधेसवादी दलसँग पुगेर सचिवको लागि लविङ नगरेकी हैनन्। तर, तत्कालिन सत्तासिन दल चाहर्दै हिनेकाले समेत उनलाई स्वास्थ्य सचिवका लागि पत्याएनन्।

स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव रहेकी मिश्रा स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा निश्चित स्वास्थ्य उपकरण आपूर्तिकर्ताको स्वार्थमा काम गरेको आरोपमा मुछिएकी थिइन्। जुन विषयमा उकेराले निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ।

विशेष अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहेका मोहन बस्नेत स्वास्थ्यमन्त्री रहेको बेला उनले मिश्रासहित आफ्नो विश्वासिलो समूहलाई विभागमा लगेर खरिदमा अनियमितता गरेका थिए। मिश्रा विभाग प्रमुख हुँदा भएका अधिकांश स्वास्थ्य सामग्री तथा उपकरणको खरिद निश्चित व्यापारिक समूहको स्वार्थमा भएको थियो।

यसबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। बस्नेत मन्त्रीबाट हटेपछि छोटो समयका लागि स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादव र प्रदीप यादवको पालामा समेत मिश्रा विभागमै टिकेकी थिइन्।

प्रदीप पौडेल स्वास्थ्यमन्त्री भएपछि उनको सरुवा भएको थियो। पौडेलले मिश्राको सरुवा गरेर देवकोटालाई विभागको प्रमुख बनाए पनि देवकोटाले समेत मिलेमतोमै खरिद प्रक्रिया अगाडि बढाएको आरोप छ। पछि उनी बढुवा भएर मन्त्रालयको सचिव बने।

बस्नेतको १० महिने कार्यकालमा साढे चार अर्ब बराबरको स्वास्थ्य उपकरण तथा सामग्री खरिद भएको थियो। विभागमार्फत खरिद भएका अधिकांश टेन्डरको स्पेसिफिकेसनमा हेरफेर गरेर निश्चित कम्पनीको स्वार्थमा काम भएको थियो।

खरिदमा मिलेमतोको प्रारम्भ मन्त्रालयको नेतृत्व तहबाटै भएको थियो, जसमा तत्कालीन स्वास्थ्य सचिव डा. रोशन पोखरेलसमेत संलग्न देखिएका थिए। मिश्रालाई विभागको महानिर्देशक बस्नेतले नै बनाएका थिए।

स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. श्रवणकुमार थापा थिए भने खरिद शाखा प्रमुखमा डा. सुरेन्द्र चौरासिया थिए। बायोमेडिकल इन्जिनियरका रूपमा आशिष् चौहान थिए। यही समूहले मिलेर विभागको खरिद स्पेसिफिकेसन ‘लक्ड’ गरेर निश्चित व्यापारीको स्वार्थमा काम गरेको थियो।

पछि मिश्रा, थापा र चौरासियाको सरुवा भयो, तर चौहान विभागमै रहे। उनी प्रदीप पौडेलको पालामा भएको मिलेमतोको खरिदमा पनि सहयोगी थिए। खरिद अनियमिततामा चौरासिया र आशिष् समेत बदनाम पात्र मानिन्छन्।

मिश्रा विभाग प्रमुखहुँदा उकेरामा प्रकाशित समाचार

असोज ६, २०८२ सोमबार १६:५७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।