ड्रागन फ्रुटले बदलिदियो सुनारपानी, पहिले बाँझो बारी अहिले ड्रागन फ्रुटको बगैँचा

ड्रागन फ्रुटले बदलिदियो सुनारपानी, पहिले बाँझो बारी अहिले ड्रागन फ्रुटको बगैँचा

रामेछाप : रामेछापको मन्थली नगरपालिका-५, सुनारपानीका रामबहादुर शाहीले बाँझो बसेको बारीलाई पैसा फल्ने ठाउँ बनाएका छन्। धेरै वर्ष बाँझै रहेको बारीका पाटामा अहिले लटरम्म ड्रागन फ्रुट छन्।

अत्यधिक सुख्खा जमिनका कारण लामो समयसम्म बाँझै रहेको बारी अहिले सबैको मन लोभ्याउने ठाउँ बनेको छ। २०५३ सालदेखि काठमाडौँमा नर्सरी व्यवसाय गर्दै आएका साईले १० वर्ष अघि गाउँ फर्केर कृषि उद्यम सुरु गरे। साईको अहिले पनि काठमाडौंमा नर्सरी छ। तर गाउँमा आएर नयाँ प्रयोग गर्दा राम्रो आम्दानी भएपछि साही गाउँमा नै रमाए।

शाहीले ३ वर्षअघि भदौरे कालिका कृषि फर्म दर्ता गरेर बाँझो जमिनमा ड्रागन लगाएका हुन्। अहिले उनका बारीमा ८ सयभन्दा बढी ड्रागन फ्रुटका बोट छन्। साईको पहिलो लटमा नै एक लाख रुपैयाँभन्दा बढी फल बिक्री भयो । यो वर्ष ६ लाख रुपैँयाको फल बिक्री हुने उनको अनुमान छ।

प्रति किलो ३ सय ३० रुपैयाँमा बँगैचाबाट बिक्री हुने ड्रागन फ्रुटको बजारको कुनै चिन्ता नभएको उनले बताए। ’व्यापारीहरू यहीँ किन्न आउँछन्, अहिलेसम्म बजारको कुनै समस्या छैन’, साईले भने।

ड्रागन फ्रुटसँगै शाहीले दुई वटा हाई टेक टनेल (प्लास्टिक घर) स्थापना गरेर बिरुवा उत्पादन सुरु गरिरहेका छन्। त्यस्तै सयपत्री लगायतका फूलबाट पनि उनले राम्रो आम्दानी गर्ने गरेका छन्। 

रामेछाप जिल्लामा अमिलो जातका फलफूल- जुनार, सुन्तला र कागती राम्रो हुने भएकाले त्यही प्रजातिका बिरुवा उत्पादनलाई उनले प्राथमिकता दिएका छन्। यसबाहेक सयपत्री, मखमलीलगायतका फूल पनि उनले सिजन अनुसार बजारमा पठाउँछन्। साईले व्यवसायीक कृषि सुरु गरेपछि अन्य  किसानले पनि व्यवसायीक रूपमा फलफूल खेती सुरु गरेका छन्। साई किसानको लागि प्रेरणाको स्रोत बनेका छन्।

असोज ६, २०८२ सोमबार १६:२८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।