रोकिइन् संगीता, नवनियुक्त चार मन्त्रीले लिए सपथ

रोकिइन् संगीता, नवनियुक्त चार मन्त्रीले लिए सपथ

काठमाडौं : अन्तरिम सरकारले थप चार मन्त्री पाएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा अनील कुमार सिन्हा, मदन परियार, जगदीश खरेल र महावीर पुन मन्त्री बनेका छन्।

शीतल निवासमा उनीहरुलाई अहिले राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी दिनेगरी सिफारिस गरिएको छ। परियारलाई कृषि तथा पशुपन्छी विकास र खरेललाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यससँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ। शपथग्रहण समारोहमा सभामुख, प्रधानमन्त्री कार्की, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। 

विवादपछि रोकिइन् संगीता

आर्थिक अनियमिततामा जोडिएकी संगीता कौशल मिश्रा स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा निश्चित स्वास्थ्य उपकरण आपूर्तिकर्ताको स्वार्थमा काम गरेको आरोपमा मुछिएकी थिइन्।

विशेष अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहेका मोहन बस्नेत स्वास्थ्यमन्त्री रहेको बेला उनले मिश्रासहित आफ्नो विश्वासिलो समूहलाई विभागमा लगेर खरिदमा अनियमितता गरेका थिए। मिश्रा विभाग प्रमुख हुँदा भएका अधिकांश स्वास्थ्य सामग्री तथा उपकरणको खरिद निश्चित व्यापारिक समूहको स्वार्थमा भएको थियो।

यसबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। बस्नेत मन्त्रीबाट हटेपछि छोटो समयका लागि स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादव र प्रदीप यादवको पालामा समेत मिश्रा विभागमै टिकेकी थिइन्।

प्रदीप पौडेल स्वास्थ्यमन्त्री भएपछि उनको सरुवा भएको थियो। पौडेलले मिश्राको सरुवा गरेर विकास देवकोटालाई विभागको प्रमुख बनाए पनि देवकोटाले समेत मिलेमतोमै खरिद प्रक्रिया अगाडि बढाएको आरोप छ। पछि उनी बढुवा भएर मन्त्रालयको सचिव बने।

बस्नेतको पालामा विभागले अनियमित रूपमा गरेको खरिद निर्णयमा प्रत्यक्ष जोडिएकी मिश्रालाई स्वास्थ्यमन्त्री बनाउन ‘जेन-जी’ पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनको बलमा बनेको भनिएको सरकारले आइतबार सिफारिस गरेको थियो।

मन्त्री नियुक्त हुने निश्चित भएपछि मिश्राले आइतबारै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। उनीसहित पाँच जनालाई मन्त्रीमा नियुक्त गर्न आइतबार साँझ नै राष्ट्रपति कार्यालयमा नाम पठाइएको थियो।

तर, बीचमा उकेरामा मिश्राबारे प्रकाशित समाचारको अध्ययनपछि उनलाई नियुक्त गर्दा विवाद हुने देखेर प्रधानमन्त्रीको सचिवालयबाट राष्ट्रपति कार्यालयमा तत्काल नियुक्ति प्रक्रिया अघि नबढाउन अनुरोध गर्दै फोन गएको थियो।

जानकार स्रोतका अनुसार, मिश्राको पृष्ठभूमिबारे गृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएपछि प्रधानमन्त्रीले नै राष्ट्रपति कार्यालयमा फोन गरेर नियुक्ति रोक्न लगाएकी थिइन्।

‘कार्यविभाजनसहित पाँच जनाको नाम राष्ट्रपतिको कार्यालयमा आएको थियो। तर, पुनः तत्काल नियुक्त नगर्न अनुरोध आएपछि अब यसबारे सोमबार मात्र निर्णय हुन्छ’, राष्ट्रपति कार्यालय स्रोतले उकेरालाई भन्यो। मिश्राबाहेक अनिलकुमार सिन्हा, जगदीश खरेल, महावीर पुन र डा. मदन परियार मन्त्रीमा सिफारिस भएका थिए।

साढे चार अर्बको खरिदमा बदमासी
बस्नेतको १० महिने कार्यकालमा साढे चार अर्ब बराबरको स्वास्थ्य उपकरण तथा सामग्री खरिद भएको थियो। विभागमार्फत खरिद भएका अधिकांश टेन्डरको स्पेसिफिकेसनमा हेरफेर गरेर निश्चित कम्पनीको स्वार्थमा काम भएको थियो।

खरिदमा मिलेमतोको प्रारम्भ मन्त्रालयको नेतृत्व तहबाटै भएको थियो, जसमा तत्कालीन स्वास्थ्य सचिव डा. रोशन पोखरेलसमेत संलग्न देखिएका थिए। मिश्रालाई विभागको महानिर्देशक बस्नेतले नै बनाएका थिए।

स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. श्रवणकुमार थापा थिए भने खरिद शाखा प्रमुखमा डा. सुरेन्द्र चौरासिया थिए। बायोमेडिकल इन्जिनियरका रूपमा आशिष् चौहान थिए। यही समूहले मिलेर विभागको खरिद स्पेसिफिकेसन ‘लक्ड’ गरेर निश्चित व्यापारीको स्वार्थमा काम गरेको थियो।

पछि मिश्रा, थापा र चौरासियाको सरुवा भयो, तर चौहान विभागमै रहे। उनी प्रदीप पौडेलको पालामा भएको मिलेमतोको खरिदमा पनि सहयोगी थिए। खरिद अनियमिततामा चौरासिया र आशिष् समेत बदनाम पात्र मानिन्छन्।

मिश्रा विभाग प्रमुखहुँदा उकेरामा प्रकाशित समाचार

-लक्ड स्पेशिफिकेशन बनाएर अल्ट्रासाउन्ड किन्दै स्वास्थ्य सेवा विभाग, १० करोड बढी मूल्यमा म्याक्स मेडिटेकलाई ठेक्का

-व्यवस्थापन महाशाखाका प्रमुख डा. श्रवणको पहिलो काम, १२ करोडको ‘कोल्पोस्कोप र थर्मोकोगुलेटर मेसिन’ को ठेक्का जिएच मेडिहेल्थलाई

-आमा स्वास्थ्यको आवरणमा १० करोड भ्रष्टाचारको खेल, युएसजी खरिदमा सतर्कताको छानबिन पनि शंकामा

-मन्त्रालयसँगै सेटिङ पनि हस्तान्तरण : मोहनकालमा मिलेमतोमा खुलेका अर्बौको स्वास्थ्य टेन्डर उपेन्द्रको पालामा निरन्तर

-विश्व बैंकको ऋणमा भ्रष्टाचार , ‘कोल्पोस्कोप र थर्मोकोगुलेटर मेसिन’ पनि मिलेमतोमा किनिँदै

- स्वास्थ्य सेवा विभागको साढे २ अर्बको अधिकांश टेण्डर मिलेमतोमा, सहजकर्ता यज्ञ भण्डारी, २० प्रतिशतसम्म कमिसन

-'अख्तियारले टेरामक्सको मुद्दा लैजानु अगाडि' स्वास्थ्य उपकरण खरिदको बजेट सक्न स्वास्थ्यमन्त्री सक्रिय

असोज ६, २०८२ सोमबार १५:३१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।