प्यालेस्टाइनलाई मान्यता दिएपछि इजरायल क्रुद्ध, नेतन्याहुले भने- ‘यो आतंकवादलाई दिइएको पुरस्कार हो’

काठमाडौं : बेलायत, क्यानडा र अष्ट्रेलियाले प्यालेस्टाइनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएपछि इजरायलले कडा आपत्ति जनाएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस कदमको कडा शब्दमा निन्दा गर्दै आफू अमेरिकाबाट फर्केपछि यसको जवाफ दिने चेतावनी दिएका छन्।
इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको एक विज्ञप्ति अनुसार नेतन्याहुले भने, ‘कुनै प्यालेस्टिनी राष्ट्र हुने छैन। हाम्रो भूमिको बीचमा एक आतंकवादी राष्ट्र थोप्ने हालैको प्रयासको जवाफ म अमेरिकाबाट फर्केपछि दिइनेछ।’
उनले अक्टोबर ७ को घटनालाई जोड्दै भने, ‘अक्टोबर ७ को नरसंहारपछि प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने नेताहरूका लागि मेरो स्पष्ट सन्देश छ कि तपाईंहरूले आतंकवादलाई धेरै ठूलो इनाम दिइरहनुभएको छ।’
नेतन्याहुले आफ्नो अडान स्पष्ट पार्दै थपे, ‘मेरो तपाईंका लागि अर्को सन्देश पनि छ: यो सम्भव हुने छैन। जोर्डन नदीको पश्चिममा कुनै पनि प्यालेस्टिनी राष्ट्र हुने छैन।’
आइतबार बेलायत, क्यानडा र अष्ट्रेलियाले आधिकारिक रूपमा प्यालेस्टाइनलाई मान्यता दिएका थिए।
यस निर्णयपछि इजरायली विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिनु "जिहादी हमासका लागि इनामबाहेक केही होइन" भनेको थियो।
असोज ६, २०८२ सोमबार १४:१५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।