भीमफेदी कारागारबाट भागेका मध्ये ६८ कैदीबन्दी आफैँ फर्किए, १९८ जना नियन्त्रणमा

भीमफेदी कारागारबाट भागेका मध्ये ६८ कैदीबन्दी आफैँ फर्किए, १९८ जना नियन्त्रणमा

बागमती : ‘जेन-जी’ प्रदर्शनका क्रममा मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएका ४४० कैदीबन्दीमध्ये १९८ जना फिर्ता भएका छन्। तीमध्ये ६८ जना आफैँ कारागारको सम्पर्कमा आएका हुन्।

कारागारका प्रमुख सुवास पौडेलका अनुसार, आज बिहानसम्म १९८ जना कैदीबन्दी कारागारमा फिर्ता ल्याइएको छ।

फिर्ता हुनेमध्ये ६८ जना आफैँ सम्पर्कमा आएका हुन् भने बाँकी १३० जनालाई सुरक्षाकर्मीले विभिन्न स्थानबाट पक्राउ गरी कारागार फर्काएका हुन्।

गत भदौ २४ गते राति करिब १ बजे कैदीबन्दीहरूले कारागारको तीनवटा गेट र पश्चिमतर्फको पर्खाल भत्काएर भागेका थिए।

कारागार प्रमुख पौडेलले भीमफेदीका १९८ र अन्य कारागारबाट फरार भएका ६१ जना गरी देशभरबाट कुल २५९ जना कैदीबन्दी नियन्त्रणमा आइसकेको जानकारी दिए।

अब भीमफेदी कारागारबाट भागेका २४२ जना कैदीबन्दी अझै फरार छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले फरार रहेकाहरूको खोजी कार्यलाई तीव्र पारिएको बताए।

असोज ६, २०८२ सोमबार १३:४९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।